मोतिबिन्दु रोगको उपचार नि:शुल्क हुने 


पनौती, काभ्रे ।

पनौती नगरपालिकाले मोतिबिन्दु  रोगको उपचार नि:शुल्क गर्ने भएको छ । यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा अस्पतालसँग  सम्झौता समेत गरेको छ ।

पनौती नगर बासीको आखाँ  उपचार गर्नेबारे बिहीबार  नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार पनौतीमा अवश्यक्ता अनुसार वडाहरूमा मासिक आँखा उपचार शिविर पनि सञ्चालन गरिने छ । साथै, नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मीहरुलाई तालिम पनि प्रदान गरिने छ ।

नगरपालिका र आँखा अस्पतालबीच भएको सम्झौताले नगर बासीहरूको मोतीबिन्दु रोगको सहज र गुणस्तरीय उपचार हुने नगरप्रमुख भण्डारीले बताउनु भएको छ । यस्तै सम्झौता अनुसार गत वर्ष ९० जना पनौतीवासीको मोती विन्दुको शल्यक्रिया भएको थियो ।

पनौती नगर सँगको सम्झौताले मोतीबिन्दु रोग न्यूनीकरण अभियानमा थप सहयोग मिलेको बताउँदै अस्पतालका महासचिव शर्माले भन्नुभयो– बनेपाको आखाँ अस्पतालले मोतीबिन्दु रोगीको निःशुल्क उपचार गर्न काभ्रेको बनेपा, नमोवुद्ध नगरपालिका र वेथानचोक गाउँपालिकासँग पनि सम्झौता गरेको छ । साथै यो अस्पतालले सिन्धुपाल्चोकको बलेफि गाउँपालिका, धनुषाको मिथिला, छिरेश्वर र कमला नगरपालिकासँग पनि सम्झौता गरेको छ । बनेपा आँखा अस्पतालको धनुषाको धल्केवरमा पनि शाखा रहेको छ ।