काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ ।
सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउँनुभयो । उहाँले भन्नुभयो- ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेनैछ भन्नेमा विश्वस्त छु ।’
उहाँले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गर्नुभयो ।
पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिवद्ध भएर लागिरहेको बताउँनुभयो । उहाँले भन्नुभयो- ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ, समन्वय गरेर अघि बढौं । ’
विश्वस्वास्थ्य संगठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताउँनुभयो । सो क्रममा विश्व स्वास्थ्य संगठन नेपालका मेडिकल अफिसर डा.वीनोद बुराको पनि उपस्थित रहेको थियो ।
प्रतिक्रिया