सञ्जीवनीमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना नाटक

0
Shares

काभ्रे। 

धुलिखेलको सञ्जीवनी नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूले लागु औषध न्यूनीकरण गर्ने उदेश्यले सचेतनामूलक नाटक प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले लागुऔषध नियन्त्रण युवा लक्षित सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

कक्षा १० मा अध्ययन गर्ने विशाल लुइँटेल, साजन राना मगर, शैलेश तामाङ, सिवन पुडासैनी, दिपा तिमल्सिना, सञ्चिता यस्माली, दिलशोभा क्षेत्री, सुशील गौतम, सुजल तामाङ र कक्षा ९ मा अध्ययन गर्ने दिपु मध्येका केही साथीहरू विद्यालय जाने समयमा साथीहरुको संगतका कारण लागु औषधमा फस्छन् । शुरुमा निःशुल्क खान सिकाउने लागु औषध बानी पर्दै गए पछि घरबाट पैसा मागेर खान थाल्छन् ।

अध्ययन भन्दा पनि लागु औषध सेवन गर्नलाई तोकिएको अड्डामा जम्मा भएर बाटो हिँड्ने व्यक्तिहरूलाई लुटेर पनि लागु औषध प्रयोग गर्छन् । अन्ततः तीन जना साथी मध्येका एकले लागु औषध सेवन गर्नु अघि विद्यालयकै एक जना साथीसँग प्रेम गरेका हुन्छन् । मन मिलेको बेला प्रयोग भएको मोबाइलबाट खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने धम्की दिँदै रकम माग्न थाल्छन् । त्यो क्रम नरोकिए पछि साथीले अर्की साथीसँग सबै कुरा साटासाट गर्छिन् । उनकै सहयोगमा प्रहरीले उनीहरूलाई पक्राउ गर्छ ।

प्रहरीले पक्राउ गरे पछि अभिभावक बोलाएर सुधार गृह पठाउने व्यवस्था प्रहरीले गर्छ । उमेर नपुगेका कारण उनीहरूलाई प्रहरीले हिरासतमा राख्न सक्दैन । अभिभावकहरू समेत भ्रममा हुन्छन् । प्रहरीले प्रमाण सहित देखाए पछि अभिभावकरु छोराहरुको गलत संगत र बानी ब्यहोरा देखि अचम्म मान्छन् । उनीहरू सधैँ विद्यालय गएर फर्किएका होलान् भन्ने भ्रममा हुन्छन् । अन्ततः सुधार गृहबाट निस्किएका तीन जना विद्यार्थीहरूले लागु औषधको सेवन नगर्न, अभिभावकहरुको मनमा ठेस नपु¥याउन, समाजमा असभ्यता तथा कुलत नफैलाउन अनुरोध गर्दै आफू नियमित विद्यालय जाने प्रतिबद्धता व्यक्त गर्छन् । नाटक लेखन तथा निर्देशन अतिरिक्त क्रियाकलाप शिक्षक सुन्दर थापाले गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विद्यार्थीहरूले प्रदर्शन गरेको सचेतनामूलक नाटक अहिलेको वास्तविकता भएको बताउनु भयो । ‘पछिल्लो समय अभिभावकहरुले बालबालिकाहरूको रेखदेख नगर्ने, अभाव हुन नदिने तर बालबालिकहरु गलत संगतका कारण लागु औषधमा प्रयोग गर्ने अवस्थामा पुगेका छन्’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘लागु औषध नियन्त्रणका लागि युवाहरु सचेत हुनुको विकल्प छैन ।’ युवाहरु लक्षित गरी समाजमा लागु औषधको प्रयोगकर्ताहरुको गिरोहले ओसारपसार तथा बेचबिखन गरिरहेकाले त्यसको जालो भत्काउन सबै पक्षको सक्रियता आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।

स्वास्थ्य कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेल नगरपालिका, सञ्जीवनी नमुना उच्च मावि, सक्रिय प्लस लगायतका संस्थाहरूको संयोजन रहेको उक्त कार्यक्रममा सञ्जीवनी माविमा अध्ययन गर्ने विद्यार्थीहरूको सहभागितामा धुलिखेलमा सचेतनामूलक ¥याली समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रहरी प्रमुख एसपी चक्रराज जोशीले लागु औषध ओसारपसार तथा बेचबिखन सहित प्रयोगकर्ताका रुपमा युवाहरूको सहभागिता धेरै हुन थालेकाले त्यसको न्यूनीकरणका लागि नागरिकहरूको भूमिका आवश्यक रहेको बताउनु भयो ।

प्रहरी प्रशासनले मात्रै यसको न्यूनीकरण सम्भव नभएकाले सबै क्षेत्रको सक्रियता आवश्यक रहेको एसपी चक्रराज जोशीले बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाई, विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकाल लगायतले लागुऔषध प्रयोगकर्ताहरुलाई रोक्न र कुलतमा नफस्न अनुरोध गर्नु भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले लागुऔषध नियन्त्रण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरूसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गरिरहेको बताउनु भयो ।