ईश्वर वा देश र जनताको नाममा शपथ लिन सकिने

अब ‘त्यो पर्दैन’ भन्न नपाइने

0
Shares

काठमाडौं ।

अबदेखि सार्वजनिक पद धारणा गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिँदा ‘त्यो पर्दैन’ भन्न नपाइने भएको छ । बुधबार राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त शपथसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘त्यो पर्दैन’ भन्न नपाइने भएको हो ।

सार्वजनिक पद धारण गर्ने व्यक्तिले शपथ लिने क्रममा ‘त्यो पर्दैन’ भन्ने शब्दावली प्रयोग गरेर शपथको नियम पालना नगरेकाले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकाले संसद्ले सो ऐन बनाएको बताएको छ । ऐन कार्यान्वयनमा आएपछि शपथ खानेले ईश्वरको नाममा वा देश र जनताको नाममा सपथ खान सक्ने विकल्प राखिएको छ ।

यसअघि ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था रहेको थियो । ईश्वरको नाममा भन्न नचाहनेहरूले देश र जनताको नाममा भनेर सपथ खाने प्रचलन रहेकोमा अब देश र जनताको नाममा पनि सपथ लिन सकिने भएको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिने क्रममा ‘प्रतीज्ञा गर्दछु’ भन्ने शब्द उचारण नगरी त्यो पर्दैन भन्ने शब्द उच्चारण गर्नुभएको थियो । त्यसपछि ओलीको सर्वत्र आलोचनासमेत भएको थियो ।

यसैबीच प्रतिनिधिसभाको बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । त्यसै गरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ । हाल काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि दफाबार छलफल प्रारम्भ भएको छ ।