नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले ढिला गर्नुहुन्न : प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरण प्रसङ्ग

0
Shares

काठमाडौं । 

संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक अझै प्रमाणित हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा आन्तरिक गृहकार्य गरिरहनुभएको छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला भइरहेको बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने नागरिकता विधेयक राष्ट्रपतिबाट तत्काल प्रमाणीकरण हुनुपर्ने बताउनुभएको छ । उहाँले विधेयक प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाउनुभयो ।

जापान भ्रमणबाट बुधबार स्वदेश फर्कनुभएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला हुनुपर्ने कुनै कारण नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्दथ्यो, छिटोभन्दा छिटो प्रमाणीकरण गरेर कार्यान्वयमा लैजानु पर्छ ।’ प्रचण्डले राष्ट्रपति छिट्टै विधेयक प्रमाणीकरण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाए पनि अझै प्रमाणीकरण हुन सकेको छैन । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधेयक कार्यान्वयनमा आउनेछ ।नागरिकता विधेयक पारित भएकोप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असन्तुष्टि जनाउँदै आएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएकै विधेयकलाई वर्तमान सरकारले अघि बढाएर पारित गरेको छ ।

फरक प्रसंगमा प्रचण्डले छिट्टै पार्टी पदाधिकारी टुंगो लगाउने बताउनुभयो । उहाँले यसपटक पदाधिकारी टुंगो लगाएर मात्र निर्वाचनमा जाने बताउनुभयो ।त्यसै गरी पाँचदिने जापान भ्रमणको क्रममा प्रचण्डले जापान फोहोर व्यवस्थापनमा संसारमै अग्रस्थान रहेको बताउँदै फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताउनुभयो । ‘जापानमा कहीँकतै फोहोर गर्न नदिने रहेछ, त्यसैले हामीले फोहोर व्यवस्थापनका लागि तत्काल इक्विपमेन्ट चाहियो भन्याैं, जापानको सहयोगमा नागढुंगामा सुरुङ बनिरहेको छ ।

अब हामी धेरै टनेलमा जान्छाैं त्यसमा पनि जापानको प्रविधि र लगानी होस् भन्ने छ’ –उहाँले भन्नुयभो । उहाँले आफ्नो जापान भ्रमण धेरै राम्रो भएको बताउनुभयो । प्रचण्ड साउन २१ गते जापान भ्रमणमा जानुभएको थियो । उहाँ चार दिनपछि बुधबार नेपाल फर्किनुभएको हो ।