कोरोना संक्रमणबाट ३ जनाको मृत्यु



काठमाडौं ।

बितेको ३ दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार कोरोना संक्रमणबाट २ जना र आइतबार १ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेका २४ घण्टामा ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय १४ जनाको पीसीआर र ३ हजार ९१ जनाको एन्टिजेन गरी कुल ६ हजार ७ सय ५ जनाका परीक्षण गरिएकोमा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआरबाट ८ सय ६८ र एन्टिजेनबाट ३ सय ७२ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाको सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ८५ पुगेको छ । तीमध्ये ५ हजार ६ सय ७१ घरमै आइसोलेसनमा छन् भने २ सय १४ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा रहेका छन् । त्यसै गरी ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार १० वर्षमुनिका ६ जना बालबालिकामा र ११ देखि २० वर्ष उमेर समूहका ३० जनामा संक्रमण देखिएको छ । यसैबीच स्वास्थ्य मन्त्रालयले हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको भन्दै सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले ‘खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ र खोपले जीवन रक्षा गर्छ’ भन्दै सबैलाई आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार कोरोना संक्रमणविरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ ।

भारतमा एकै दिनमा कोरोनाबाट ५४ को मृत्यु

भारतमा कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । भारतमा बितेको २४ घण्टामा ५४ जनाको कोरोनाबाट मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतको नयाँ दिल्ली, महाराष्ट्र र पंजाबमा सबैभन्दा बढी ७–७ जना गरी २१ जना, केरलामा ७, पश्चिम बंगालमा ५, हिमाञ्चलमा ३, मिजोरममा ३, छत्तीसगढ, कर्णाटक, ओडिसा, सिक्किम, उत्तरखण्ड र उत्तर प्रदेशमा २–२ जना गरी १२ जना र गुजरात, हरियाना, झारखण्ड र नागाल्यान्डमा १–१ गरी ४ जना गरी भारतभरि ५४ जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ करोड ४१ लाख ९० हजार ६ सय ९७ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २६ हजार ८ सय २६ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुनेको दर ९८ दशमलव ५२ प्रतिशत रहेको छ भने मृत्युदर १ दशमलव १९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्