उपत्यकामा बाढीको वितण्डा : नदी किनारका बस्ती जलमग्न !

0
Shares

बाठमाडौं ।

अविरल बर्षाले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन् । काठमाडौं र भक्तपुर बीच भएर भग्ने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।

टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको प्रहरीले जनाएको छ । मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन ।

यस्तै प्रहरी प्रभाग काँडाघारीको भवन पनि डुबानमा परेको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा प्रहरी तथा उद्धार टोली खटिएका छन् । प्रभावितहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

 उपत्यकाका वागमती, विष्णुमतीलगायतका नदी, खोलाहरुमा बाढी आएको छ । वागमती छेउछाउमा सडकसम्म नै बाढी पसेको हो । पुण्यमति, हनुमन्ते, मनोहरालगायतका खोलाहरुमा पनि बाढी आएकाले आज दिउँसोसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।