स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड

0
Shares

काठमाडौं  । 

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा वैदेशिक लगानी नभित्रिनुको प्रमुख २ वटा कारणमा राजनीतिक अस्थिरता र कर्मचारीको अस्थिरता रहेको बताउनुभयो ।

यूएसएआईडी, एनडीआई र दायित्वले मंगलबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. महतोले भन्नुभयो– ‘कुनै पनि मन्त्रालयमा उपसचिव, सहसचिव, सचिव, डिजीहरू ६ महिनादेखि १ वर्षभन्दा बढी बस्दैनन् । सरकारले २ वर्ष यो तहका कर्मचारीलाई एउटै मन्त्रालयमा बस्ने ग्यारेन्टी गरोस्, म ५० प्रतिशत लगानी अहिले नै भित्र्याउन ग्यारेन्टी गर्छु ।’

कार्यक्रममा उहाँले विदेशी लगानीका आधारमा नेपाल धेरै दिन अगाडि बढ्न नसक्ने टिप्पणी गर्दै स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । गैर आवासीय नेपालीले नेपालले लगानी गर्न नसकेको १ वर्षदेखि एनआरएन डिभेलप्मेन्ट फन्ड फिर्ता मागिरहेको जिकिर गर्दै डा. महतले भन्नुभयो–‘नेपालको नीति समय, परिस्थिति र अवस्था अनुरूपको हुनुपर्छ ।

गैर आवासीय नेपालीले दिएको पैसा सरकारले लगानी गर्न नसकेको अवस्थामा कसरी विदेशी लगानी भित्र्याउने ?’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर बमबहादुर मिश्रले नेपालमा वैदेशिक लगानी गर्ने विदेशीहरूले नेपालीको समस्यालाई समाधान गर्न नभई नेपालमा नाफा कमाउने उद्देश्यले लगानी गर्ने जिकिर गर्दै नेपालमा वैदेशिक लगानी आएन भनेर रोइलो गर्नुभन्दा पनि विदेशी लगानी भित्र्याउँदा नेपाललाई के फाइदा हुन्छ भनेर अध्ययन गरेर मात्र भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

ल एसोसियसनका अनुपराज उप्रेतीले गैर आवासीय नेपालीले नेपालमा लगानी गर्न चाहे तापनि वातावरण सहज नभएको बताउनुभयो । उद्योग विभागका महानिर्देशक रमचन्द्र तिवारीले रियल स्टेटमा सरकार स्पष्ट नभएको उल्लेख गर्दै भन्नुभयो– ‘रियल स्टेटमा विदेशीले लगानी गर्न पाउँदैन । नेपालमा फाइल एउटा मन्त्रालयबाट अर्को मन्त्रालय जाने र फाइल घुमिरहँदै समय गुज्रिरहेको छ । छिटो छरितो काममा ध्यान पुग्नु जरुरी छ ।’

सोही अवसरमा नेपाली कांग्रसका नेता गगन थापाले भर्चुअल माध्यमबाट जोडिएर प्रवासी नेपालीले नेपालमा लगानी गर्दा उसको सन्तानले भोलिका दिनमा उपभोग गर्ने आधार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनी रूपमा ती सन्ततीले नेपालमा अभिभावकले गरेको लगानी ऊ नागरिक भएको देशमा लान पाउने वातावरणको खोजीमा प्रवासी नेपाली रहेको भन्दै आफूले यो विषय संसद्मा छलफलका लागि लैजाने बताउनुभयो ।
कार्यक्रममा दायित्वका संस्थापक अध्यक्ष डा.पुकार मल्लले देशको विकासका लागि सरकारले गैर आवासीय नेपालीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।