निर्वाचन तयारी अघि बढाउँदै आयोग

0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सोमबार हुने प्रतिनिधि र प्रदेश सभाको निवार्चनको लागि कार्यतालिका स्वीकृति गरी सोहीअनुसार तयारी अघि बढाएको छ ।

आयोगले दल दर्ताको कामसँगै कार्यतालिका स्वीकृत गरी तयारी अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल समाचारपत्रलाई बताउनुभयो । आयोगले आइतबार निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न आह्वान गरेको थियो ।निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले त्यसका लागि भदौ २५ गते लेखी पठाउने आयोगले जनाएको छ । आयोगका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ शुरू गरिनेछ ।

अहिले करिब एक करोड ७७ लाख मतदाता पुग्ने अनुमान छ । त्यसमा थप केही मत जगेडा राख्नुपर्ने भएकाले दुई करोड मतपत्र छाप्नुपर्ने आयोगको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि चार प्रकारको ८ करोड मतपत्र छाप्नुपर्ने हुन्छ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । त्यसमध्ये केही कार्यक्रम आवश्यकताअनुसार परिवर्तन हुन सक्नेछन् ।

निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै शुरू भएको छ । पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । यस्तै दोस्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ । मंगलबार नेकपा (एमाले) ले पनि दल दर्ता गराएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । समानुपातिक तर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।