बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको संर्घष



काभ्रे।

पनौती नगरपालिका घर भएकी इन्दु श्रेष्ठ कुवेतमा ७ वर्ष रोजगारी पछि नेपाल फर्कनु भयो । कोरोना महामारीको समयमा फर्किएकाले तत्काल केही गर्न सम्भव भएन । तर पनि इन्दुले तरकारी खेती गर्ने योजनालाई संस्थागत गर्ने प्रयास भने छाड्नु भएन ।

दुईवटा टनेलबाट शुरु भएको तरकारी खेती अहिले ४५ वटामा विस्तार भएको छ । तरकारी खेतिकै बीचमा ९ महिने दुध खाँदै गरेका सन्तानलाई घरमा छाडेर इन्दुले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गर्नु भयो ।

बैदेशिक रोजगारमा ब्यतित गरेका ७ वर्षका अनुभव, सिप र ज्ञानलाई नेपालमै प्रयोग गरेर आर्थिक रुपले सम्पन्न हुने योजनामा सफल हुँदै गएको इन्दुले बताउनु भयो । बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई समेटेर गठन गरिएको श्रमजीवी महिला सञ्जालमा परिचयात्मक कार्यक्रममा इन्दुले महिलाहरुले अवसर पाउँदा समन्वय र सहयोग हुँदा ब्यक्ति, परिवारलाई सक्षम बनाउँदै राष्ट्रलाई योगदान पुर्‍याउन सक्षम भएको बताउनु भयो ।

इन्दु जस्तै ४० भन्दा धेरै महिलाहरुले बैदेशिक रोजगारमा जानु पर्नाका पारिवारीक, सामाजिक परिस्थितीका बारेमा बताउँदै बैदेशिक रोजगारका पीडाका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बैदेशिक रोजगारमा गएर फर्किँदा सामाजिक, पारिवारीक विखण्डन देखा पर्न थालेको बताउनु भयो । ‘बैदेशिक रोजगारबाट आर्थिक हिसावमा परिवार, समाज र राष्ट्रलाई योगदान पुगेको छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘विदेशबाट फर्किएर आउँदा घर, परिवारबीच हुने असमझदारीले सम्वन्ध विच्छेद बढिरहेको छ ।’ सम्वन्ध विच्छेदका कारण उनिहरुबाट जन्मेको सन्तानले प्राप्त गर्नु पर्ने नागरिकता लगायतका अधिकारमा समस्या भएको बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बैदेशिक रोजगारमा गएका मध्ये पुरुष मध्ये धेरै महिला हिंसामा पर्ने गरेको बताउनु भयो ।

‘दैनिक राहदानी बनाउनेहरु मध्ये महिलाको संख्या आधा छ, रोजगारमा गएर फर्किएकाहरु मध्ये पुरुष भन्दा धेरै महिला पीडित भएका छन्’–प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो–‘हिंसामा परेका महिलालाई न्याय दिई स्वावलम्वन बनाउने, आत्मनिर्भर बनाई सक्षम बनाउने र विदेशमा सिकेको सिप र क्षमतालाई ब्यवहारीक जीवनमा प्रयोगमा ल्याउनु आवश्यक छ ।’

महिलालाई एक दिन घर बाहिर बस्दा फरक दृष्टिकोणबाट हेर्ने समाज विदेशबाट फर्किएका महिलाहरुलाई हेर्ने दृष्टिकोण अझै फरक पार्ने गरेको सहभागिहरुले बताए । बैदेशिक रोजगारका समस्या समाधान गर्न, अफ्ठेरोमा परेकाहरुलाई न्याय दिन, उद्धार र सहजिकरण गर्न न्यायिक समितिलाई सक्रिय बनाईनु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।

बैदेशिक रोजगारबाट फर्किएकी शान्ति श्रेष्ठको अध्यक्षमाता श्रमजीवी महिला सञ्जाल गठन भएको छ । आप्रवासन नीतिका बारेमा श्रमजीवी महिलाहरुलाई जानकारी गराउने, बैदेशिक रोजगारबाट फर्किएकाहरुको लागि पुन: एकीकरण निर्देशिका बारेमा जानकारी गराउने र नीति र निर्देशिकाको बारेमा जानकारी गराएसँगै श्रमजीवी महिलाहरुले आफ्नो अधिकार सुनिश्चितताका लागि पहल गर्ने अपेक्षा गरिएको अध्यक्ष शान्ति श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले जिल्लाभर रहेका बैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरुको सिप र क्षमतालाई सम्मान पुग्ने गरी आर्थिक उपार्जन र आत्मनिर्भरताका लागि स्थानीय सरकारले विशेष कार्यक्रम गर्न पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सामी परियोजनाका बसन्त कुँवर, मजदुर नेता सुनिल धाँजु, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, महिला मानव अधिकार रक्षक संञ्जालकी अध्यक्ष उमा थपलिया, निर्मला काफ्ले लगायतले बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको अवस्थाका बारेमा सरोकारवाला निकाय सचेत रहनु पर्ने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्