सवारी दुर्घट्नामा ४० को मृत्यु



स्याङ्जा । स्याङ्जामा एक वर्षको अवधिमा २७ सवारी दुर्घटना हुदा ४० जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटना मुख्य राजमार्गमा भन्दा ग्रामीण सडकहरुमा बढी हुने गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परेर ४० जनाले अकालमै ज्यान गुमाएका हुन् ।

सवारी दुर्घटनामा १७ पुरुष, १८ महिला, ४ बालक र १ बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो । एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, २ बालक र २ बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम घाइते भएका थिए ।

आ.व. २०७७/०७८ मा स्याङ्जामा १६ सवारी साधन दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । विभिन्न दुर्घटनामा १२ पुरुष, २ महिला र २ बालकको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते र ५ जना मध्यम घाइते भएका थिए ।

आ.व. २०७७/०७८ मा भन्दा गत आ.व. २०७८/७९ मा २४ जना बढीले ज्यान गुमाएका छन् । गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ–१४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै आ.व. २०७६/७७ मा स्याङ्जामा १५ सवारी साधन दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ४ पुरुष, ३ महिला र २ बालबालिका थिए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा स्याङ्जामा सवारी दुर्घटना, मृत्यु र घाइतेको संख्या बढ्दै गइरहेको देखिएको छ ।

ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरबाही, पुराना र मर्मत नगरिएका सवारी साधन, कच्ची र ग्रेडिङ नमिलेका ग्रामीण सडकका कारण पनि दुर्घटनामा वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।

जिल्लामा सवारी साधन दुर्घटनामा परी अकालमै धेरैको मृत्यु हुन नदिनका लागि ट्राफिक प्रहरीले आ.व. २०७८/०७९ मा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ६ सय २ वटा सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख कुँवरले बताउनुभयो । उक्त कार्यक्रममार्फत ४६ हजार ४० जना लाभान्वित भएको ट्राफिक कार्यालयको दावी छ ।

आ.व. २०७७/०७८ मा पनि ४ सय १२ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ३३ हजार ७ सय २५ जना लाभान्वित भएको तथ्याङ्क ट्राफिक कार्यालयमा रहेको छ । दुर्घट्ना न्युनिकरणका लागि यातायात व्यवसायी, यात्रुहरुमा सचेतना र ट्राफिक प्रहरीको निगरानी बढाउनु पर्ने सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्