म्याग्दी पहिरो अपडेट : पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु, दुईजना घाइते, तीनवटा घर पूर्णरुपमा क्षति

0
Shares

म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–२, रुम गाल्दामा आज बिहान पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३८ वर्षीय घामबहादुर विक, उहाँकी श्रीमती ३५ वर्षीया राममाया विक, छोराहरु १६ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र ५ वर्षीया छोरी रोजी विक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी पहिरोमा परेर रुम गाल्दाकै ६५ वर्षीय गोठे विक र उहाँकी श्रीमती ६३ वर्षीया गोरी विक घाइते भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार घाइते विकद्वयको रुम स्वास्थ्यचौकीमा उपचार भैरहेको छ । घाइते गोठेको बोल्न नसक्ने अवस्था रहेको छ भने गोरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै घरभन्दा माथिबाट आएको पहिरोले घर पुरिँदा घामबहादुर विकको एकवटा र गोठे विकको दुईवटा घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । पहिरोले स्थानीय भीमबहादुर विकको गोठमा क्षति पु¥याउँदा बाँधिराखेको एकवटा भैंसी र राँगो बेपत्ता भएको छ । घटनापछि स्थानीयवासी, जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले घाइते, बेपत्ता र मृतकको उद्धार गरेका थिए ।

यसैबीच वर्षाकै कारण पश्चिम म्याग्दी भएर जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडकखण्डको घुमाउनेभीर र बाङ्गेपहिरो भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । सडकभन्दा माथिबाट खसेको पहिरोका कारण सोमबारदेखि सडक अवरुद्ध कायमै रहेको प्रहरीले जनाएको छ । यता हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध छ ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा बढेको खोलाको वहाव तथा अन्नपूर्ण–२, नौनीबगरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय भूरुङ–तातोपानीका प्रहरी नायव निरीक्षक सोमबहादुर खत्रीले जानकारी दिनुभयो । अहिले पनि निरन्तर वर्षा भैरहेको र पहिरो खसिरहेको हुँदा पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउन समस्या भैरहेको छ ।