घरको जगदेखि पुनर्निर्माण नगरे फोहोर रोक्ने चेतावनी

हैरानमा कामपा

0
Shares

काठमाडौं । 

घरको जगदेखि पुनर्निर्माण गर्नुपर्ने माग गर्दै सिसडोलका पीडितले काठमाडौं महानगरपालिकामा पत्र पठाएका छन् । सिसडोलस्थित ककनी गाउँपालिका–१ कोल्पु निवासी टंकनाथ न्यौपानेले बाटो निर्माण गर्ने क्रममा नाली थुनिएर घरभरि पानी पसेर बस्नै नसक्ने भएपछि कामपालाई पत्र पठाउनुभएको हो । उहाँले सो घर पुनर्निर्माण गर्न तत्काल क्षतिपूर्ति माग गर्दै पत्र पठाउनुभएको हो ।

पत्रमा भनिएको छ– ‘फोहोर विसर्जन जाने बाटो नबनाएको कारण नाली पुरिएर घरभित्र भेल पानी पसेर घर लड्ने अवस्थामा पुगेको र त्यस घरलाई भत्किनबाट रोक्न त्यसठाउँमा अनुगमन गरी तत्काल क्षतिपूर्ति दिन माग गर्दै अन्यथा क्षतिपूर्ति नदिए फोहोर ढुवानीका साधन रोक्न बाध्य हुनेछांै ।’
केही दिनअघि बाटोको पानी खेतमा पसेर बाली सखाप पारेको भन्दै तारकेश्वरका स्थानीयले क्षतिपूर्ति मागेका थिए । यस्ता क्षतिपूर्ति माग्ने दर्जनौं स्थानीयको माग पूरा गर्दागर्दै कामपाले लाखौं खर्चने गरेको छ ।

कामपालाई पत्र पठाएका न्यौपानेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नाली थुनिएर मेरो घर बस्नै नहुने गरी ढल्न थालेपछि के गर्ने त ? पटकपटक ताकेता दिँदा पनि बाटो बनाउने ठेकेदारले बेवास्ता गरेका कारण महानगरलाई बाटो बन्द गर्ने चेतावनी दिएका हुँ ।’ उहाँले बन्द वा हड्ताल नगरी सुनुवाइ नहुने भएपछि चेतावनी पत्र पठाएको जानकारी दिनुभयो ।न्यौपानेले सिसडोलको बाटो छेउमा परेको कारण वार्षिक करिब १ लाख बढी क्षतिपूर्ति लिने गर्नुभएको छ । ‘२०७७ सालमा लिएँ, २०७८ सालको लिएँ वा लिइनँ ज्ञान छैन, तर कामपाले तोकेको थोरै रकम लिने गरेका छौं । सन्चो नभएकाले म यो घरमा बस्दिनँ, लाखांै रुपियाँ खर्च गरेर घर बनाएको छु । घरभरि पानी पसेर बस्नै नहुने भएपछि मागपत्र पेस नगरेर के गर्ने त ?’ –उहाँको प्रश्न थियो ।

कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले कामपाले बाटो छेउका घरटहराको क्षतिपूर्ति दिने गरेको जानकारी गराउँदै न्यौपानेको घरमा पानी पसेर बस्नै नभएको विषयमा कामपाले काम गरिरहेको बताउनुभयो ।कामपाले घर र टहराको क्षतिपूर्तिबापत गएको वर्ष ६५ लाख रुपियाँ वितरण गरिसकेको छ । फोहोर व्यवस्थापन गर्न सवारी गुड्दा समस्या आउने घरहरू क्षतिपूर्ति बुझेकै भएको विभागीय प्रमुख राईको भनाइ छ । उहाँले स्थानीयलाई कुनै समस्या नपर्ने गरी फोहोर व्यवस्थापन भइरहेको र कामपाले तय परेको मापदण्डअनुसार क्षतिपूर्ति दिने गरेको जानकारी गराउनुभयो ।

कामपाले सिसडोल अति प्रभावित स्थानीयको घर र टहराको क्षतिपूर्ति उपलब्ध गराउन थालेको ५ वर्ष पुगेको छ । कामपाले २०७४ देखि क्षतिपूर्ति दिने गरेको छ । हालसम्म २ करोड ५० लाख रुपियाँ क्षतिपूर्ति दिइसकेको छ । त्यसअघि फोहोरमैला प्राविधिक केन्द्रले क्षतिपूर्ति दिने व्यवस्था थियो । कामपाले चालु आवमा सिसडोलका प्रभावितलाई क्षतिपूर्तिबापत ६५ लाख रुपियाँ विनियोजन गरेको छ ।

तैपनि स्थानीयकै कारण पटकपटक फोहोर अवरुद्ध हुने गरेको कामपाले जनाएको छ । कामपाले पनि व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको हो ।उता लगातारको वर्षा र ठेकेदारले समयमै बाटो निर्माण नगरेका कारण उपत्यकाको फोहोर विसर्जन हुन कठिन भइरहेको कामपाले जनाएको छ । दुई दिनयता आंशिक रूपमा मात्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर गइरहेको छ । महानगरका अनुसार आइतबार र सोमबार नगन्य मात्रामा फोहोरका सवारीसाधन बन्चरे पुगेका थिए ।