धनेश्वर मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण

0
Shares

काभ्रे ।

जिल्लाको ऐतिहासिक धार्मिक स्थल धनेश्वर महादेव मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । साउन, माघ तथा अन्य विशेष पर्वहरुमा लाग्ने मेलाहरुमा धनेश्वरमा हजारौ भक्तजनहरु सहभागी हुने गरेका छन् । मन्दिर दर्शनका लागि घण्टौ लाईन बस्दा शौचालयको समस्या भएसँगै सार्वजनिक शौचालय निर्माण गरिएको हो ।

‘दैनिक आउने भत्तजनहरु तथा विशेष पर्वहरुमा लाग्ने मेलामा सहभागीहरुका लागि शौचालय नहुँदा भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै महिला र अपाङ्गमैत्री शौचालय निर्माण गरेका छौं’–धनेश्वर आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले भन्नुभयो–‘विद्यालयको थोरै रकम र ब्यक्तिगत खर्चमा शौचालय निर्माण गरी भक्तजनहरुलाई सहजता प्रदान गर्ने प्रयत्न गरिएको छ ।’

शौचालयसँगै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि खानेपानीको धारा निर्माण गरिएको छ । शौचालय निर्माणमा एक लाख खर्च भएको बताइएको छ। सार्वजनिक शौचालय नहुँदा भक्तजनहरुलाई असहज हुँदै आएको थियो ।

धनेश्वर आधारभुत विद्यालय बन्द भएको लामो समयपछि अनिरुद्र थापाको पहलमा शुरुवात भएको छ । नीजि विद्यालयको भन्दा गुणस्तरीय अध्ययन भईरहेको उक्त विद्यालय महिलाहरुको नेतृत्वमा संचालनमा छ । पनौती नगरपालिका, स्थानीयहरु तथा एसओएस बालग्रामको सहयोग रहेको विद्यालयमा एक सय भन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विद्यालयको पूर्वाधार निर्माणमा नेपाली सेना कालीजंग गणको समेत सहयोग रहेको छ । सार्वजनिक शौचालयमा २४ सै घण्टा पानीको सुविधा छ । विद्यालय तथा स्थानीयहरुले ब्यक्तिगत रुपमा धनेश्वर क्षेत्रमा गरेको सहयोग र पहलले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ । तर मेला लाग्ने समयमा थोरै रकम आम्दानी गर्ने उदेश्यले आएका साना ब्यापारीहरुसँग लिएको क्षेत्र विकास समितिको कोष अपारदर्शी रहेको स्थानीयहरुले बताएका छन् ।