कालीजंग गणको २१८ औं बार्षिकोत्सव : धनेश्वर क्षेत्रमा बृक्षारोपण

14
Shares

काभ्रे।

नेपाली सेनाको कालीजंग गण धुलिखेलले २१८ औं बार्षिकोत्सवको अवसरमा सामाजिक कृयाकलापलाई निरन्तरता दिएको छ । बेथान्चोक गाउँपालिका वडा नम्वर ३ को पर्यटकीय क्षेत्र बेथान्चोक नारायणस्थानमा बुद्ध स्तुपा निर्माण गरेको नेपाली सेनाले साउन १५ गते आईतबार धार्मिक क्षेत्र धनेश्वर महादेव मन्दिर परिसरमा विभिन्न जातका विरुवाहरुको रोपण गरेको छ ।

‘हरेक वर्ष वातावरण संरक्षण तथा पर्यावरणका लागि बृक्षारोपण गरिरहेका छौं’–कालीजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले भन्नुभयो–‘धनेश्वरमा गरिएको बृक्षारोपण त्यसकै निरन्तरता हो ।’ धनेश्वरमा अम्बा, एभोकाडो, कल्की लगायतका विरुवाहरु रोपण गरिएको छ ।

२६ नम्बर बाहिनी भकुण्डेका सहायक रथी ज्योतिन्द्र महत लगायत कालीजंग गणका पुर्व गणपतिहरु, गुल्मपतिहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

धनेश्वर क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उदेश्यले शुरु गरिएको अभियानमा नेपाली सेनाको समन्वय र सहकार्य रहेको छ । धनेश्वर मन्दिर नजिकै रहेको धनेश्वर आधारभुत विद्यालयको कम्पाउण्ड लगायतका अन्य पूर्वाधार निर्माणमा नेपाली सेनाको कालीजंग गणले सहयोग गरेको थियो ।

शनिबार आयोजित बार्षिकोत्सव कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोही अवसरमा विभिन्न प्रतियोगितामा आयोजित गणमा कार्यरत सेनाका विभिन्न दर्जामा कार्यरतहरुलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्टलाई सम्मान गरिएको थियो ।

नेपाली सेनाको कालीजंग गण १८६१ सालमा कम्पनीका रुपमा गोरखा जिल्लामा स्थापना भएको कर्णेल मिलन थापाले बताउनु भयो । नेपालका विभिन्न महत्वपूर्ण घटनाहरुमा कालीजंगको तर्फबाट खेलेको शशक्त भूमिकाका कारण कालीजंगले कम्पनी, २०२२ सालमा गुल्म हुँदै २०६१ सालमा गणका रुपमा विस्तारित भएको थियो ।

२०७७ माघ २५ गते रसुवा जिल्लाबाट कालीजंग गणले काभ्रेमा स्थानान्तरण भएको थियो । तराई तथा पहाडका विभिन्न जिल्लामा उपस्थिती जनाई कुशलतापूर्वक योगदान पु¥याएको कालीजंग गणले नेपालमा भएका विभिन्न समयका विपदहरुमा समेत जोखिमको पर्वाह नगरी नागरिकहरुको जिउज्यानको रक्षाको अगुवाई गरेको छ ।

कोभिड १९ को महामारीमा नागरिकहरुको स्वास्थ्य सुरक्षासँगै शव ब्यवस्थापन, स्थानीय तहको निर्वाचन, भुकम्प पछिको उद्धार र पुर्नर्निमाण, वाढी तथा पहिरो, आगलागी जस्ता विपदहरुमा सेनाको भूमिका नागरिकहरुले महसुस गरेका छन् ।

बार्षिकोत्सवको अवसरमा कर्णेल मिलन थापाले २०७८ साल असार १ गते मेलम्चीमा भएको विपद र त्यस पछिको उद्दार तथा पुर्ननिर्माणमा कालीजंग गणले खेलेको भूमिकाका बारेमा जानकारी गराउँदै नेपाली सेना विभिन्न क्षेत्रको समन्वय र सहकार्यमा सामाजिक अभियानमा क्रियाशील हुने बताउनु भयो ।