प्रतिवर्ष झन्डै पाँच लाख नेपालीले नेपाल छोड्छन्, त्यसमा तीन लाख युवा हुन्छन् भने त्यसमध्ये आधाभन्दा बढी पढ्नका लागि विदेश गएका हुन्छन्। दिनको एक हजारदेखि १२ सय युवाले शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्रु अर्थात् एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लाने गरेका कारण पनि यो संख्या विद्यार्थीकै हो भन्ने पुष्टि हुन्छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अधिकांशले अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत, क्यानडा, भारत र अन्य मुलुकमा पढ्न जानका लागि एनओसी लिने गरेका छन्। यही बहाबका साथ नेपाली युवा बाहिरिने हो भने पाँच वर्षपछि नेपालको उच्च शिक्षामा विद्यार्थीको संख्या अभाव हुने देखिन्छ। सेवाग्राही युवाको संख्या बढेका कारण एनओसी शाखाले अहिले भौतिक निवेदन नलिई अनलाइन निवेदन लिन थालेको छ। प्रतिएनओसी दुई हजार रुपियाँ शुल्क लाग्ने यस सेवाले सरकारलाई तत्काल राजस्व त दिएको छ तर यसरी प्राप्त हुने आम्दानीले दीर्घकालीन रुपमा मुलुकलाई भने नोक्सानमा पारेको छ।
विश्वमा अनेक दृष्टिले अमेरिका दृष्टान्तका रुपमा रहँदै आएको छ। त्यहाँको बालबालिका र किशोर-किशोरीको शिक्षालाई पनि विश्वले उदाहरणका रुपमा लिनेगर्दछ। तर, के एस. हिमोविजले नेसनल एफियर्समा प्रकाशित गरेको विश्लेषणात्मक आलेख अध्ययन गर्दा अमेरिकाको शैक्षिक अवस्थाबाट सिकेर सतर्क रहने ठाउँ पनि धेरै छन् भन्ने प्रष्ट हुन्छ।
न्यून आय भएका बालबालिकामा शैक्षिक उपलब्धिप्रति रहेको निराशाका विषयमा विगत लामो समयदेखि शिक्षाविद्हरु लागिरहेका छन् हिमोविज लेख्छन्-शिक्षाले गरिबीबाट मुक्ति दिलाउन जुन भूमिका खेल्नुपथ्र्यो, खेल्नसकेको छैन। निराशाको चुरो पनि यही नै हो। उत्पादनशील शिक्षा आर्जन गर्ने विद्यार्थीले मात्र आफूलाई आर्थिक उपार्जनमा लगाउन सक्छन्, तर सीप सिक्ने अवस्थाबाट गरिब विद्यार्थीपछि पारिएका छन् भन्ने भनाइ हिमोवजको छ। उनी २१औं शताब्दीमा आवश्यक सीप सिकाउन नसक्ने शिक्षाले विद्यार्थीलाई निराशा मात्र दिने विचार व्यक्त गर्दछन्।
आर्थिक अवस्थाले शिक्षा आर्जनमा पार्ने असरका अतिरिक्त काला, गोरा र गहुँगोरा व्यक्तिहरुबीचको विभेदले पनि अमेरिकी शिक्षामा नकारात्मक भूमिका खेलेको छ। सामाजिक विभेद र मनोवैज्ञानिक आघात भोग्दै आर्थिक रुपले कमजोर विद्यार्थी असन्तुष्टिको भारी बोकेर हुर्किरहेका छन्। मनभित्र विकसित विभेदमा परें भन्ने भावनाले उनीहरुलाई विद्रोही बनाउने र कलेजमा पुग्ने र त्यहाँबाट उच्च शिक्षा हासिल हुने अवस्थामा पनि प्रतिकूल असर पारेको र अन्ततोगत्वा उनीहरु न्यून आय हुने रोजगारीमा लाग्ने र रोजगारीको क्षेत्र पनि सुदृढ नहुने लेखकको विश्लेषण छ। परिणामतः विभेदकारी र असन्तुष्टियुक्त संस्कृति र मानसिकताको विकास हुनेगर्दछ। उनीहरुको बानी र व्यवहारलाई समाजले आलोचना गर्ने तर के कारणले उनीहरुमा यस प्रकारको संस्कृति विकसित भयो भनेर ख्याल नगर्ने भएका कारण समस्या झन्-झन् गहिरिँंदै गइरहेको छ।
नेपालमा पनि धनी र गरिबले शिक्षामा पाउने अवसरमा विभेद छ। स्रोत-साधन हुने अंग्रेजी माध्यमका निजी विद्यालय जाने र नहुनेहरु सामुदायिक र कमजोर विद्यालयमा भर्ना हुने अवस्था छ। नेपालको संविधान, २०७२ ले शिक्षा-स्वास्थ्यजस्ता सुविधालाई आधारभूत विषय मानेका कारण सर्वत्र विद्यालय जाने वातावरण भने बन्दैछ। हामी कहाँ कक्षा १२ सम्मको पढाइलाई माध्यमिक शिक्षा मानिएको छ, अन्य विकसित मुलुकमा पनि यस्तै खालको अभ्यास देखिन्छ।
पछिल्ला वर्षहरुमा नेपाली किशोर-किशोरीको शैक्षिक गन्तव्य बनेको अस्टझेलियामा १३ वर्षको माध्यमिक शिक्षा छ। उसको सन् २०१९ को शैक्षिक रिपोर्टमा भनिएको छ, त्यहाँका सबै राज्यमा सात वर्षको आधारभूत र ६ वर्षको माध्यमिक शिक्षा पूरा गरेपछि विद्यालय स्तरको शिक्षा पूर्ण हुन्छ। पाँच वर्षको उमेर पूरा गर्नुअघि विद्यालय भर्ना हुनै पर्छ, जसले गर्दा १७-१८ वर्षको उमेरमा विद्यार्थीले कलेज जाने योग्यता बनाउन सक्छ। अष्ट्रेलियामा ७०.१ प्रतिशत सरकारी र २९.९ प्रतिशत निज लगानीमा खुलेका स्कुल रहेको पनि प्रतिवेदनमा जनाइएको छ। गैरसरकारी विद्यालयमध्ये अधिकांश धार्मिक शिक्षा दिने विद्यालय भएको पनि उल्लेख छ।
अष्ट्रेलियामा करिब ६६ प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा भर्ना हुन्छन् भने बाँकी ३४ प्रतिशतभन्दा केही धेरै गैरसरकारी स्कुलमा जान्छन्। लगानीका दृष्टिले कुरा गर्दा राज्य वा स्थानीय सरकार र अभिभावकको संयुक्त लगानीमा विद्यालय चलेको देखिन्छ। सन् २०१९ मा विद्यालयका लागि सरकारी लगानी ६६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
विदेशबाट अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीले १२ कक्षा उत्तीर्ण गरेपछि भर्नाका लागि पहल गर्दछन्। एसईई उत्तीर्ण गरेपछि मात्र अष्ट्रेलिया पढ्न जाने प्रयास भएको देखिन्न। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जाने अनुमति दिने भएका कारण पनि यो अवस्था आएको हो। एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्टझेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० पछि डिप्लोमा कोर्स गर्न विदेश जान चाहने विद्यार्थी देखिएका कारण उनीहरुलाई रोक लगाउन आवश्यक देख्यो।
कक्षा १० पास गरेका विद्यार्थीलाई विदेशमा पढ्न जाने नो अब्जेक्सन लेटरमा रोक लगाइएका कारण किशोर-किशोरीसमक्ष यहीँ पढ्नुको विकल्प देखिन्न। मन्त्रालयले यो निर्णय गर्दै सीधै विश्वविद्यालय जाने विद्यार्थीका लागि मात्रै अनुमति दिने निर्णय गरेको छ। विद्यार्थीले एकवर्षे, नौ महिने र ६ महिने कोर्सका लागि एनओसी लिन आउन थालेपछि मन्त्रालयले रोक लगाएको हो।
अंग्रेजी भाषा योग्यता परीक्षा आईएलटसमा कम्तिमा ५.५, टोफेलमा ५.५, पियर्सन टेस्ट (पीटीई) वा सिएईमा निर्धारित प्रतिशत नघाएका व्यक्तिले त्यहाँको कलेजमा भर्ना पाउँछन्। यसरी हेर्दा एक व्यवस्थित योजनाका साथ पहल गर्ने हो भने अष्ट्रेलियाका कलेजमा भर्ना पाउन गाह्रो छैन। यस प्रयोजनका लागि काठमाडौंलगायत सहरमा एजेन्टहरु अफिस खोलेरै बसेका छन्। तोकिएको शुल्क बुझाएपछि बल्ल उनीहरुले सघाउँछन्।
घर छोडर विदेशमा पढ्न जाने युवामा जो उत्साह छ, त्यसलाई निरुत्साहित गर्नु त हुन्न, तर सम्भाव्य समस्यासँग सतर्क भने गराउनै पर्दछ। अनुसन्धानकर्ताहरुका अनुसार विदेशमा जाने नेपाली र यस्ता अन्य अल्पविकसित मुलुकका विद्यार्थीले अनेक समस्याको सामना गर्नुपर्दछ। ती समस्यालाई देहायबमोजिम सूचीकृत गर्न सकिन्छ।
पढ्न विदेश जाने ? आउन सक्छन् यस्ता समस्या
१. भाषाको समस्याः अंग्रेजी भाषा निकै जान्दछु भन्नेहरु पनि उच्चारण र शैलीका कारण अपमानित हुनेगरेका छन्। बोल्ने शैली फरक भएका व्यक्तिसँग स्थानीयले गर्ने विभेदपूर्ण व्यवहार चोटिलो हुनेगरेको छ।
२. सांस्कृतिक संक्रमणको दबाबः खानपिन, बोलीचाली, सम्पर्क, सम्बन्ध आदि सबै व्यवहार फरक हुन्छ। डाइनिङ टेबुलको कल्चर होस् कि ठूलो स्वर वा सानो स्वरले बोल्ने बानी होस्, माया गर्ने तरिका होस् कि संवेदना प्रकट गर्ने शैली होस्, कतै केही पनि नमिलेपछि मानिस विक्षिप्तजस्तै बन्न पुग्छ।
३. अवास्तविक अपेक्षाः विदेश सहज होला, सम्मान पाइएला, ठगी र बदमासीबाट मुक्त हुन सकिएला भन्ने अपेक्षा, पढ्दै काम गर्न पाउने सम्भावना आदि चकनाचुर हुन पनि सक्छ।
४. घरको सम्झना र चिन्ताः घरमा ओछ्यानमै चिया आइपुग्ने अवस्था विदेशमा रहन्न। बिरामी पर्दा तातोपानी दिने पनि कोही हुन्न। अझ विदेशमा पुग्नासाथ यता आमा-बुबा बिरामी हुनुभयो, कोही आफन्तको मृत्यु नै भयो भने पढ्न विदेश पुगेको व्यक्तिका लागि असह्य पीडाको विषय बन्दछ।
५. आफै बिरामी भए, विभिन्न समस्यामा परे, शारीरिक वा मानसिक शोषणमा परे टाढा भएका बाबुआमा र आफन्तले सघाउन सक्तैनन्। विदेशमा सहयोगी संयन्त्र बनाउन पनि सकिएको हुन्न। खासगरी, नयाँ विद्यार्थीलाई विदेशमा बढी नै समस्या आइलाग्छन्।
यद्यपि, यी सबै समस्याका समाधान पनि नभएका भने होइनन्। यसका लागि आत्मबल बलियो बनाउने, पहिला नै योजनाका साथ विदेशयात्रा तय गर्ने गरियो भने यस्ता समस्यालाई समयमै सम्बोधन गर्न सकिन्छ। खासगरी, पछिल्लो समय विश्वका हरेक कुनामा नेपाली पुगेका छन्, नेपाली समाजले सघाउन सक्छ। यत्ति हो व्यक्ति चिनेर सहयोगी वा अभिभावक खोज्न सक्नुपर्छ।
प्रतिक्रिया