वक्तृत्वकलाका सहभागीलाई अभिमुखीकरण

0
Shares

ललितपुर।

बौद्ध युवा कमिटी ललितपुरले उपत्यकास्तरीय बौद्ध वक्तृत्वकलाका सहभागीहरुलाई शनिबार एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
ललितपुर महागनरपालिका– ६ लुखुसीस्थित श्रीसुमंगल विहारमा भएको सो कार्यक्रममा यही श्रावण २१ गते हुने २८ औं वक्तृत्वकलालाई लक्षित गरी सो अभिमुखीकरण सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रभावकारी वक्ता बन्नका लागि आवश्यक गुण र प्रस्तुतीबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराउनुभएको थियो ।

अर्का प्रशिक्षक सुनील महर्जनले भाषणकला प्रस्तुती शैलीमाथि आफ्नो भनाई राख्दै वक्तृत्वकलाका सहभागीहरुले बुद्धको ज्ञान र शिक्षालाई जीवन व्यवहारसंग जोडेर, समसामयिक घटनाक्रमलाई सन्दर्भ र उदाहरण दिई, मौलिक तर्क र तथ्यमा आधारित प्रस्तुत राख्नुपर्ने सुझाव दिनुभयो ।प्रशिक्षक महर्जनले अगामी दिनहरुमा सहभागीहरुलाई लेखनकला, भाषणकला दुवै विषयमा तालिम दिनुपर्ने खाँचो पनि औल्याउनुभयो ।

सो अवसरमा बौद्ध युवा कमिटी ललितपुरका अध्यक्ष सतिस शाक्यले युवावर्गको व्यक्तित्व विकासंगै बुद्ध शिक्षाबारे युवावर्गलाई बुझाउने पनि मुख्य उद्देश्य रहेकोले सहभागीहरुले घोकेर भन्दा पनि मौलिक, अनुभवमा आधारित भएर आफ्नो प्रस्तुती गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

२०५० सालदेखि प्रत्येक वर्ष असार पूर्णिमाको अवसरमा विभिन्न संघसस्थाले पालैपालो सञ्चालन हुँदै आएको छ । यस कार्यक्रम सञ्चालन गरिसकेका संस्थाहरुको प्रतिनिधिमूलक संगठन बौद्ध वक्तृत्वकला मूगुठीका अध्यक्ष विश्वन्तर शाक्यले यस कार्यक्रमलाई युवावर्गमाझ प्रभावकारी, आकर्षक र व्यापक बनाउन नगद पुरस्कार बढाउने, स्रोतको दीगो व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।