मावि हायूटार मरिणको सुविधा सम्पन्न भवन निर्माण



सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको माध्यमिक विद्यालय मरिण हायूटारको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भुकम्प पछिको पुनःनिर्माण अन्तर्गत अत्याधुनिक सुविधा सहितको विद्यालय भवन निर्माण भएको हो ।

एसियाली विकास बैंक (एडीबी) को ३ करोड ७५ लाख लागतमा निर्माण भइरहेको साढे तीन तलाको विद्यालय भवनको करिब ९० प्रतिशत निर्माण कार्य सकिएको मावि मरिण हायुटारका प्रधानाध्यापक विजय कुमार थिङले बताए ।

विद्यालयको भवन निर्माणको जिम्मा निर्माण कम्पनी खानी निर्माण सेवाले पाएको छ । खानी निर्माण सेवाले भवन, शौचालय, खानेपानीको धारा, फर्निचर र कम्पाण्ड निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

भवन निर्माणको काम सकेको खानी निर्माण सेवाले विद्यालयको फर्निचर र कम्पाण्ड घेराबेराको काम गर्न बाँकी रहेको प्रअ थिङले बताए । ‘भूकम्पले विद्यालयका पुराना भवनहरु भत्केपछि पुरानै भवनमा पठनपाठन गर्न बाध्य थियौं । अहिले नयाँ भवन बनेपछि ठूलो कक्षा कोठामा विद्यार्थीहरुलाई पढ्न र शिक्षकलाई पढाउन सहज भएको छ । विद्यार्थीहरुको खेलका लागि खेलमैदान पनि पर्याप्त छ’ उनले भने ।

त्यस्तै भुकम्प पछिको पुन निर्माण अन्तरगत नै जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) मार्फत दुई÷दुई तालाका अरु दुई वटा विद्यालय भवन यस अघि नै निर्माण भईसकेको उनले बताए ।

भूकम्पले भत्केका पुराना ट्रस, ढुङ्गा, माटो र सिमेन्टले बनेको भवनहरु पनि प्रवलिकरण भईरहेकाले अहिलेलाई विद्यालयको भौतिक संरचनाहरु लगभग पर्याप्त रहेको उनले बताए । वि.स. २०१९ सालमा स्थापना भएको विद्यालयमा अहिले ५ सय ४४ भन्दाबढी विद्यार्थीले पढ्दै आएका छन् ।

जिल्लामै सबैभन्दा पहिला अग्रेजी माध्यमबाट पठनपाठन गराउन सुरु गरेको माबि हायूटार जिल्लाका सामुदायिक विद्यालयहरु मध्येको नमुना विद्यालयमा पर्दछ । माबि हायूटारमा अहिले कक्षा १ देखि १० सम्म अग्रेजी माध्यमबाट पनि पठनपाठन हुदै आएको छ ।

सामुदायिक विद्यालयहरुको अग्रेजी माध्यमका किताबहरु अभाव हुदाँ पठनपाठनमा समस्या भएको उनले बताए । ‘सामुदायिक विद्यालयहरुको अग्रेजी माध्यमका किताबहरु निक्कै कम मात्रामा पाइन्छ । जसले गर्दा सबै कक्षाको किताब नहुदाँ अग्रेजी माध्यमबाट पढाउन केही समस्या भईरहेको छ’ उनले भने ।

५, ८ र १० मा सबै अग्रेजी माध्यमबाट र अन्य कक्षामा भने किताब अभावले आधा अग्रेजी र आधा नेपाली माध्यममा पढाइ हुने उनले बताए । मावि हायूटार अनुशासन र नजितामा अहिले जसरी जिल्लाकै नमुना विद्यालय बनेको छ अगामी दिनमा थप राम्रो बनाउन कोशिष गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्