नुन र नजिर

0
Shares

हामी नेपालीहरु ‘नुन’ भन्छौँ, हिन्दीभाषीहरु ‘नमक’ भन्छन् । ‘नमक’बाटै नेपालीमा ‘निमेक’ बनेको छ । नेपालीहरु नुनको सोझो गर्ने अर्थात् निमेकको सोझो गर्ने कुरामा जगत्विख्यात छन् । यस परिप्रेक्ष्यमा नुन स्वयंमा एउटा नजिर पनि हो । यसलाई काट्न बडो गाह्रो पर्छ । सत्य काटिन सक्छ, न्याय काटिन सक्छ, विवेक काटिन सक्छ तर नजिर जो बन्यो त्यो कहिल्यै काटिन सक्दैन । यसका थुप्रै उदाहरणहरु छन् । पुराणमा छन् । इतिहासमा छन् । वर्तमान राजनीति तथा न्याय सम्पादनमै पनि प्रकट हुन आइपुगेका छन् ।

नेपालको इतिहासमा सातमाथि उभिएको आठको एउटा नजिर छ । जमानामा एकपटक कान्तिपुर, ललितपुर र भक्तपुरका आचार्यहरु, किसान तथा व्यवसायीहरु र राजाहरुसमेत मिलेर ‘बुङ्ग द्योः’ अर्थात् ‘रातो मच्छिन्द्रनाथ’ उठाएर पाटनसम्म ल्याइपु-याएपछि त्यहीँ पाटनमै राख्ने कि, कान्तिपुरमा लगेर राख्ने कि, भक्तपुरमा लगेर राख्ने भन्ने विषयमा विवाद भयो । विवाद ठूलो थियो । यसलाई टुङ्ग्याउन सर्वसम्मत एउटा न्यायमूर्तिको आवश्यकता महसुस गरियो । न्यायमूर्ति कसलाई बनाउने ? घण्टौँको छलफलपछि पाटनकै एकजना बूढा मानिस न्यायमूर्तिका रुपमा छानिए । एकमाथि अर्को गर्दै राखिएका सातवटा ओखल (ठाडो ढिकी)मा उभिई आफू आठौँ भएर विवादको टुङ्गो लगाउने जिम्मा उनलाई दिइयो । निर्णय सुनाउने दिन पनि निश्चित भयो । त्यो निर्णय सुनाउने दिनभन्दा केही अगाडि यी न्यायमूर्ति बूढाका घरमा पाटनका राजाले सम्मानस्वरुप कतारामा राखेर दही पठाए । राजाले पठाएको दही न्यायमूर्ति बूढाले खाए ।

दही नुनिलो रहेछ । न्यायमूर्ति बूढाले मनमा दृढ निश्चय गरे, अब मैले नुनको भाषा बोल्नै पर्छ । सही कुरा जेसुकै होस्, त्यो सबै पन्छाएर मैले नुनको सोझो गर्नै पर्छ ।निश्चित दिन सात ओखलमाथि आठौँ बनेर बूढा उभिए । बूढाले जे भन्छन् त्यो मान्ने नियम नजिरको दुनियाँले पालना गर्दै आएका थिए । जसको नुन खायो त्यसैको पक्ष्यपोषण गर्ने नजिरको बूढाले पालना गरे । सत्य के हो, त्यसबारे पटक्कै ध्यान नदिई नुनको भाषा बोल्दा अन्तद्र्वन्द्वले धर्मरिएर न्यायमूर्ति बूढा सातौँ ओखलमाथिबाट खुर्मुरिएर तल ढुङ्गामा पछारिन आइपुगे । यसै खुर्मुरिनुबाट उनको ज्यान गयो ।यो हाम्रो इतिहासमा भएका नुन र नजिरका घटनाहरुमध्येको एउटा सुन्दरतम घटना हो । यस घटनाले हामीलाई सत्य-असत्य जेसुकै होस्, ठीक-बेठीक जेसुकै होस् र आपूm धर्मरिएर, खुर्मुरिएर लड्न वा मरेरै जान पनि किन नपरोस् नुनको सोझो गर्नै पर्छ भन्ने पाठ पढाएको छ ।

शायद यस्तै घटनाहरुका कारण हुनुपर्छ हाम्रो समाजमा नुन खुवाउन सक्नेहरुले जसरी भए पनि नुन खुवाउने र तह लगाउने नजिरको सम्मान तथा उपयोग गर्दै आएका छन् ।कुरा इतिहासको मात्र होइन, पुराणको पनि हो । महाभारतका द्रोणाचार्य तथा भीष्म पितामहलाई त दुर्योधनले यसैउसै नुन खुवाएर राखेकै थियो । मद्र देशका प्रतापी राजा शल्यलाई पनि पाण्डवहरुको सहयोगार्थ सेनासहित कुरुक्षेत्रतिर आउँदा बाटोमा थाहै नदिई शिविरको र भोजनको व्यवस्था गरेर दुर्योधनले प्रशस्त नुन खुवायो । फलस्वरुप नकुल र सहदेवका साक्षात् मामा शल्यले नुनको सोझो गर्न बाध्य हुँदै महाभारत युद्धमा दुर्योधनका पक्षबाट लडेर मर्न सकार्नुप¥यो ।

लडाइँ शुरु हुनुभन्दा अघि युधिष्ठिरले शिष्टाचार भेट गर्न जाँदा भीष्म, द्रोण र शल्य तीनैजना वीर योद्धाहरुले युधिष्ठिरसँग फरक–फरक तर एउटै भाषामा आफ्नो विवशता पोखेको प्रसङ्ग यस सन्दर्भमा उदाहरणलायक छ । जस्तै–

अर्थस्य पुरुषो दासो दासस्त्वर्थो न कस्यचित्
इति सत्यम् महाराज बद्धोस्म्यर्थेन कौरवै:
अतस्त्वाम् क्लीववद्वाक्यम् व्रवीमि कुरुनन्दन,
भृतोस्म्यर्थेन कौरव्य, युद्धादन्यत् किमिच्छसि ?

अर्थ:  मानिसहरु धन अर्थात् नुनको दास छन् । नुन कसैको दास छैन । यो सत्य हो कि नुनले बाँधिएपछि कसैको केही लाग्दैन । यस कारण तिमीसँग एक नपुंसकले जस्तै गरी बोल्दै छु, ‘हे युधिष्ठिर, हामीजस्ता दुर्योधनका नुन खाएर पालिएकाहरुबाट तिमी त्यसै दुर्योधनका पक्षमा युद्धबाहेक अरु के आशा गर्छौ ?’

हो, नुन खाएकाहरुबाट नुनको सोझोबाहेक अरु केही आशा गर्न सकिँदैन । मलाई त के लाग्छ भने, पाटनका सात ओखले बूढाले पनि महाभारत पढेकै आधारमा नुनका पक्षमा उभिने निर्णय लिएको हुनुपर्छ र नुनबाटै न्याय निमोठेर नजिरको प्रतिष्ठा कायम राख्ने प्रयासमा आफ्नो जीवन विसर्जित गरेको हुनुपर्छ । यस परिप्रेक्ष्यमा नुनभन्दा गतिलो र अकाट्य नजिर संसारमा अरु के हुनसक्छ ? कानुन परम्परा वा आफैँले कायम गरेका अन्य नजिरहरु काटिन सक्छन् तर नुनको सोझो गर्नुपर्छ भन्ने नजिर काटिन त्यति सजिलो देखिएन । यस्ता नजिरमा काम गर्नेहरुले आफ्ना नयाँ नङ्ग्रा–दाह्राहरु लुकाइराख्न र आपूmलाई सही–सलामत साबित राख्न सधैँ सम्भव भएको पनि देखिएन । यो पनि नुनकै महिमा हो ।

नुन एकपटक मुखमा परेपछि ओकल्नै मिल्दैन । खाएको नुन तत्काल सर्सराउँदै फिँजिएर रगतका विन्दु–विन्दुमा पुग्छ । पूरै रगत नुनिलो बनाइदिन्छ । खाएको नुन ओकल्न त सिङ्गो जीवन नै ओकल्नुपर्ने हुन्छ ।ओखलबाट खुर्मुरिएर मर्नुपरे पनि, लडाइँका मैदानमा छियाछिया भएर मर्नुपरे पनि बाध्यतापूर्वक त्यस्तो मृत्युलाई सकार्नु र मरिसकेपछि मात्र आफू चोखिएको अनुभव गर्नु नुन खाएकाहरुको अन्तिम परिणति हो । इतिहासमा होस् कि पुराणमा होस्, कसैको नुन खाएकाहरुले आफ्नो ज्यान नै गुमाएर मात्र सन्तोष लिन पाएका उदाहरणहरु प्रशस्त पाइन्छन् ।

अरु नजिर नभए पनि वा भए पनि केवल नुनका आधारमा दिइएका निर्णयका नजिरहरु हामीकहाँ अतीतदेखि वर्तमानसम्मका सत्तासीनका क्रियाकलापहरुमा यत्रतत्र भेटिन सक्छन् । कानुनी किसिमबाट नभई व्यावहारिक वा साहित्यिक किसिमबाट भन्ने हो भने नुनका आधारमा निर्णय दिने नजिरको पालना गर्ने कुनै पनि निर्णेतालाई अन्तष्करणमा सआध्यै कष्टकर चोट पर्ने गरेको हुनुपर्छ, जुन चोट महाभारतका शल्यलाई त्यतिखेर दुर्योधनका पक्षमा उभिँदा परेको थियो ।

अहिले आएर हाम्रो नेपालमा नुनका नजिरहरु धेरै स्थापित भइसकेका छन् । कोशीदान, गण्डकीदान, महाकालीदान र यस्ता प्रकृतिका अन्य विभिन्न नदीदान, भूदानका साथै हालै आएर गरिएको एमसीसी नामको ‘सभूमिक’ शैयादान, एस्पीपी नामको अर्को महादान र नागरिकता विधेयक नामक नेपाल सर्वस्व–दान सबै नै नुनका नयाँ–नयाँ नजिरहरु हुन् ।

माननीय सम्माननीयहरुका हजुरमा सम्मानका कतारा आउने संस्कृति त स्थापित थियो नै । विवेकशील हुँदा कतिले कतारा समात्थेनन् । समातेनन् । मुलुक जोगिँदै आयो । अहिले शीर्षहरुमै विवेक हराएका विषम स्थितिमा महँगा–महँगा सम्मानका कतारा आए । इन्डियन कतारा आए । अमेरिकी कतारा आए । देश जोगाऊलान्, जनता बचाऊलान्, उज्याला दिन बोलाऊलान् भन्ने आशा विश्वासमा नेपाली जनताले सात ओखल चढाएका सम्माननीय, माननीयहरुले जनताका आशा विश्वासमाथि मचक्क कुल्चेर पापका बाउका कतारा समाते । दही खाए । खाएपछि नुनको सोझो त गर्नै प-यो । नजिरको पालना त गर्नै प-यो । नजिर बीभत्स थियो र पनि अघि सरेर त्यसै बीभत्स नजिरको पालना गरेका छन् । यो पनि आत्मविक्रयी बिचरा नयाँ जजमानहरुको विवशता हो ।

अब यी माथि चढेर आफ्नै अन्तष्करणसमेतका विरुद्ध निर्णयका ध्वनि निकाल्ने यी बिचरा ¥यालेहरु सात ओखलमाथिबाट खुर्मुरिनु त अवश्यम्भावी छ । कुन पाटो कसरी कहाँ पुग्ने र के हुने किसिमले खुर्मुरिएलान् । परवस बिचराहरुको त्यो बिजोग हेर्न बाँकी छ । दुष्कर्मको निश्चित परिणति हेर्न बाँकी छ । लाग्छ, हामी जनताले त्यो दुष्परिणति हेर्न धेरै पर्खनु नपर्ला ।