गत परीक्षाकै कार्यविधि लागु गर्ने निर्णय, लब्धांकपत्र सबैले पाउने

कक्षा १० को परीक्षाफल आज

0
Shares

काठमाडौं । 

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षाफल आज बुधबार २ बजे प्रकाशित हुँदै छ । नयाँ कार्यविधिमा भएको केही प्रावधान हटाएर गत वर्षकै आधारमा ग्रेडिङ विधि लागु गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ । लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्दा धेरै विद्यार्थीले लब्धांकपत्र नपाउने र ननग्रेडेड आउने देखेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले गत सालकै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

हिजो मंगलबार दिउँसो परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डको बैठक डाकिएको थियो । तर, बैठक अघिल्लो परीक्षाको कार्यविधि र एक्सफेल विद्यार्थीको संख्याको निर्णय गरेर सकेको थियो । स्रोतका अनुसार एक्सफेल विद्यार्थीको संख्या १ सय ३ रहेकोे छ । स्रोतका अनुसार बैठकमा मंगलबार नै परीक्षाफल प्रकाशित गर्न दबाब बढेको थियो । तर, बोर्डले केही ठोस कारण नै नभई आज बुधबारलाई सारिएको दाबी गर्दै स्रोतले भन्यो– ‘बोर्डका सदस्यले डमी परीक्षाफल, पुरानै कार्यविधिअनुसार नै प्रकाशित गर्ने निर्णय गरिसकेको थियो । तैपनि बोर्डका अधिकारीले भोलि गरांै भनी परीक्षाफल प्रकाशित गरेनन् ।’

बैठकअघि नै बोर्डका अध्यक्ष महाश्रम शर्माले आन्तरिक रूपमा विभिन्न उच्च तहका अधिकारीसँग छलफल गरी बुधबार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरिसक्नुभएको स्रोतले बतायो ।बैठकमा पुरानै पाठ्यक्रम र कोभिडको कारण लामोे समय विद्यालय बन्द भएको र छोटो समय मात्र पठनपाठन भएको अवस्थामा २०७८ को कार्यविधि लागु गर्न अनुपयुक्त हुने तर्क आएपछि गत वर्षकै आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको थियो । धेरै विद्यार्थी ननग्रेडेड हुने विषयमा मन्त्रालयदेखि उच्च तहसम्म सल्लाह भएपछि पुरानै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गर्न बोर्डका उच्च अधिकारी राजी भएका थिए । सोही प्रस्तावलाई बोर्डका सदस्यले पारित गरेका थिए ।

यसअघि २०७८ को कार्यविधिमा ‘डी’ प्लस उल्लेख छैन । अब ‘डी’ प्लस, ‘डी’, ‘ई’ सम्म उल्लेख गरी लब्धांकपत्र तयार हुनेछ । यसअघि एसईईमा ‘डी’ र ‘ई’ आएमा सबै विषयमा सहभागिता जनाएको आधारमा लब्धांकपत्र दिने व्यवस्था थियो । यो वर्ष पनि गत वर्षकै आधारमा लब्धांकपत्र प्राप्त गर्नेछन् । बोर्डले लब्धांकपत्रमा ३० देखि ३९ अंक ल्याउनेलाई ‘डी’ प्लस दिने व्यवस्था गरेको छ । कार्यविधिमा यो वर्ष ३५ देखि ४० प्रतिशत अंक ल्याउनेको ‘डी’ रहने व्यवस्था छ ।

अब यो वर्षको परीक्षाफल प्रकाशित हुँदा २० देखि २९ प्रतिशत ल्याउनेलाई ‘डी’ प्लस उल्लेख गरिएको हुनेछ । तर, कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था यथावत् राखेको छ । तर, ग्रेडको व्यवस्था २०७७ कै कार्यविधिमा उल्लेख छ ।
बोर्डले परीक्षामा समग्रमा प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र नदिने उल्लेख थियो । ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था थियो । यो वर्षको परीक्षाफल प्रकाशित हुँदा ‘डी’ र ‘ई’ ल्याउने विद्यार्थीले समेत लब्धांकपत्र पाउनेछन् ।

कार्यविधिमा ८ समूह थियो । बोर्डको बैठकले गत वर्षसम्म ९ समूह कायम रहेको कार्यविधिअनुरूप यसपटक पनि नौवटै समूह कायम गरेको छ । गत वर्षको लब्धांकपत्रमा जस्तै सबै विषयमा परीक्षा दिएको उल्लेख गरेर मूल प्रमाणपत्र पाउनेछन् । तर सय पूर्णाङ्कको विषयको परीक्षा दिएमा सैद्धान्तिकमा २६ दशमलव २ र प्रयोगात्मकमा १० अंकभार भने ल्याउनैपर्छ ।

कार्यविधिमा प्रयोगात्मक र सैद्धान्तिकमा अनिवार्य रूपमा उत्तीर्ण हुनैपर्ने व्यवस्था गरेको छ । पुरानो कार्यविधिअनुसार दुई विषयमा ‘सी’ सम्म ल्याउने विद्यार्थीले पुनः परीक्षा दिन पाउनेछन् । नयाँ कार्यविधिअनुसार ननग्रेडेड अंकभार ल्याएका विद्यार्थीले स्वदेशमा रहेका विदेशी बोर्डसम्बद्ध शिक्षण संस्था र अन्य मुलुकमा गई कुनै पनि बोर्डमा भर्ना भएर माथिल्लो अध्ययन गर्न नपाउने व्यवस्था थियो । यो वर्षको लागि सो व्यवस्थासमेत कार्यान्वयन नहुने भएको छ । एसईई २०७८ मा ५ लाख १४ हजार ७ सय ९ सय ७७ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ र छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ ।