शिक्षा समाजको सभ्यतासँग जोडिएको छ : मन्त्री कार्की

0
Shares

काभ्रे।

बेथान्चोक गाउँपालिका २ स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभा सम्पन्न भएको छ । सभामा शुभकामना मन्तव्य राख्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षालाई जीवनपयोगी र गुणस्तरीय बनाउनु पर्ने बताउनु भयो ।

‘नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने प्रकृतिको छ, यसलाई सभ्य, सुन्दर र समृद्ध सहितको समाज निर्माण गर्ने दिशा तर्फ उन्मुख गर्नु पर्छ’– मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो–‘रातको अन्धकारलाई बत्तिले हटाउँछ भने समाज भित्रको अन्धकार शिक्षाले हटाउँछ । त्यसकारण शिक्षालाई बदलिँदो अवस्था अनुसार समाज निर्माणका लागि बनाईनु पर्छ ।’

शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्नका लागि नभई जीवनपयोगी र रोजगारममूलक हुनु आवश्यक रहेको उहाँले बताउनु भयो । ‘विकासको आधार शिक्षा हो, जसले समाजलाई सभ्य बनाउँछ’–मन्त्री कार्कीले भन्नुभयो–‘अहिले दुई प्रकारका युवा शिक्षाले उत्पादन गरेको छ । एकखालका युवा गाउँबाट शहर हुँदै खाँडी मुलुक पुग्छन । उनीहरुले पठाएको रेमिट्यान्सबाट मुलुक संचालन भईरहेको छ । अर्काेथरी युवा स्वदेशमै बस्छन् र प्रविधिको माध्यमबाट लाखौ रुपैया आम्दानी गरी मुलुक समृद्ध बनाउने अभियानमा जुटिरहेका छन् ।’ सूचना र प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन, युवाहरुलाई रोजगारी दिन कृषि, जलश्रोत, पर्यटन लगायतका क्षेत्रको विकास आवश्यक रहेको उहाँले बताउनु भयो । बेथान्चोक गाउँपालिकालाई प्राप्त हुने नियमित बजेटमा केही प्रतिशत थप गर्ने प्रतिवद्धता ब्यक्त गर्दै मन्त्री कार्कीले समाजमा विश्वास प्राप्त गरेको ब्यक्तिले मात्रै परिवर्तन गर्न सक्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकलाई धार्मिक पर्यटनसँगै कृषि र पशुपालनको माध्यमबाट समृद्ध बनाउने योजना सुनाउँदै शैक्षिक गुणस्तर कायम गर्न छात्रवृत्ति लगायतका अन्य पूर्वाधारमा जोड दिएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सडक तथा अन्य पूर्वाधार निर्माणमा गाउँपालिकाले प्राथमिकता राखेको अध्यक्ष अधिकारीले बताउनु भयो । २०६९ सालमा शुरु भएको क्याम्पसले २ करोड ३ लाख ५० हजार ३ सय ४७ रुपैया खर्च गरिसकेको भवन निर्माण समितिका संयोजक एवं क्याम्पस संचालक समितिका सदस्य मछिन्द्र लामाले बताउनु भयो । १० रोपनी १४ आना २ पैसा १ दाम क्षेत्रफल रहेको क्याम्पसको दुई तल्ला निर्माण सम्पन्न हुने चरणमा छ ।

क्याम्पसको भवन निर्माणका लागि १ करोड ९४ लाख १२ हजार रुपियाँ संकलन भएको थियो । विश्वविद्यालय अनुदान आयोगले १ करोड, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई मार्फत ७० लाख, पुर्व मन्त्री एवं सोहि क्षेत्रका सांसद गोकुल बास्कोटाले २५ लाख, बेथान्चोक गाउँपालिका वडा नम्वर २ का तत्कालिन वडा अध्यक्ष भगवान घिमिरे मार्फत वडाको बजेटबाट ३ लाख ६० हजार प्राप्त भएको संयोजक लामाले बताउनु भयो । गाउँपालिकाले प्रशासनिक खर्चका लागि सहयोग गरेको थियो । भवन निर्माणका लागि सोही विद्यालयको २०४९ एसएलसी समुहका विद्यार्थी प्राविधिक हुद्दराज तिमल्सिनाले प्राविधिक सहयोग निशुल्क गर्नु भएको छ । २०७५ माघबाट भवन निर्माण कार्य शुरु भएको थियो ।

क्याम्पस सभामा सस्थापक क्याम्पस संचालक समितिका अध्यक्ष भगवान घिमिरे, संस्थापक क्याम्पस प्रमुख गोविन्द शर्मा, हालका क्याम्पस संचालक समितिका अध्यक्ष परशु घिमिरे, क्याम्पस प्रमुख प्रताप कार्की लगायतले क्याम्पस स्थापनाकाल देखि यो समयसम्म ल्याउन खेलेको भूमिका र क्याम्पसको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

पार्वती बहुमुखी क्याम्पसले स्नातक तह अन्तर्गत साधारण तर्फ चार वर्षे बी.एड र बि.बि.एसका कक्षाहरु सञ्चालन गर्दै आएकोमा आगामी दिनमा स्नातक तहका प्राविधिक विषयहरु थप गर्दै बेथानचोक गाउँपालिकाको प्राविधिक शिक्षालयको रुपमा विकास गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख कार्कीले बताउनु भयो ।

चालु शैक्षिक सत्रका लागि शिक्षा र ब्यवस्थापन संकायमा ७८ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने २३ जना उर्तिण भईसकेका छन् । क्याम्पसको बार्षिक आय ब्यय १ करोड १९ लाख ८३ हजार ५ सय ४९ रहेको छ । सभामा संविधान सभा सदस्यहरु, जिल्ला समन्वय समिति तथा स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संचालक सदस्य नारायण तिमल्सिनाले क्याम्पसका थप लक्ष्य र उदेश्यका बारेमा प्रस्ट पार्नु भएको थियो भने बेदप्रसाद तिमल्सिनाले शिक्षासँग जोडिएका अन्य विषयका बारेमा जानकारी गराउनु भएको थियो ।