सूर्यविनायकमा बजार अनुगमन तीव्र



भक्तपुर । महँगी र कालोबजारीले उपभोक्ता मारमा परेको गुनासो बढेसँगै भक्तपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।

सोमबार र मंगलबार सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईको नेतृत्वको टोलीले नगरपालिकाभित्रका विभिन्न ठाउँका खाद्यान्न तथा किराना तथा ग्यास पसलमा अनुगमन गरेको छ ।

टोलीले बालकोट र सुर्यबिनायक लगायतका क्षेत्रका बिभिन्न पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको पाइएको तथा ढक तराजु गुणस्तर तथा नाप तौल बिभागबाट प्रमाणीकरण नगराएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडलले जानकारी दिए ।

म्याद गुज्रेका सामान बरामद र नष्ट गरिएको र नियमपुर्वक ब्यबसाय संचालन गर्न निर्देश दिईएको नत्र पसल शिलबन्दी गर्ने चेतावनी दिईएको उनको भनाइ छ । उनले बजारमा कालोबजारी भए नभएको बुझेर त्यस्तो पाइए सुधार गर्न अनुगमन गरिएको बताए । टोलीले त्यस्ता पसलबाट अखाद्य सामान बरामद गर्दै पसल नवीकरण गर्न, मूल्य सूची राख्न र नियमानुसार पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

टोलीले सुनपा–२ बालकोटका लक्ष्मी खाद्यान्न स्टोर,सापकोटा ग्रोसरी,एस टु एस मार्ट,बंगलामुखी बि.के.स्टोर तथा वडा नं. ६ का कृष्ण कन्हैया डिपार्टमण्टल स्टोर,उज्यालो मल्टी स्टोर,साख मार्ट र पंच किराना एण्ड ग्यास पसल,लगायतका स्टोर तथा पसलमा अनुगमन गरी कमजोरी सुधार्न निर्देशन दिईएको छ ।

अनुगमनका क्रममा सुनपा २ बालकोटको सीता खाद्य स्टोर संचालक पसल बन्द गरी हिंडेको नगरपालिकाले जनाएको छ ।

टोलीमा घरेलु कार्यालयका उमेश कुमार दाहाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा जिल्ला प्रशासन कार्यालयका यादबराज मिश्र, खाद्य तथा गुण नियन्त्रण बिभाग, गुणस्तर तथा नाप तौल कार्यालय,उद्योग बाणिज्य संघ,घरेलु तथा साना उद्योग संघका प्रतिनिधि तथा प्रहरी,लगायतका सरोकारवालाको सहभागिता रहेको थियो । बजार अनुगमनलाई तालिका मिलाएर नगरपालिकाभित्र निरन्तर अनुगमन गरिने उपप्रमुख भट्टराईले बताए ।

जिल्लाका चारवटै नगरपालिकाका व्यवसायीहरूले म्याद नाघेका, मूल्यसूची नराखी बिक्री गर्ने गरेको, उपभोक्तालाई बिल दिने व्यवस्था नभएको र उपभोग्य वस्तुहरूको कालोबजारी गरी बिक्रीवितरण गर्ने गरेको पाइएको उपभोक्ताको गुनासो छ ।

कोरोना महामारी फेरि बढ्न लागेका बेला पनि स्वास्थ्य सतर्कताविना नै व्यवसायीहरूले सरसमानहरू बिक्री गरिरहेको उपभोक्ताको गुनासो रहेको छ । उपभोक्ताले बजार अनुगमन गर्दा महँगी,कालोबजारी नियन्त्रण हुने गरी र उपभोक्ताको हित हुने गरी प्रभावकारी तरिकाले अनुगमन गर्नुपर्ने माग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्