कांग्रेसलाई दबाब दिन बाम गठबन्धनको गृहकार्य



afn’jf6f/df ;j{bnLo a}7s k|wfgdGqL z]/axfb’/ b]pjfn] k|wfgdGqL lgjf; afn’jf6f/df laxLaf/ af]nfpg’ePsf] ;j{bnLo a}7sdf ;xefuL k|wfgdGqL;lxt zLif{ g]tfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । 

आगामी निर्वाचनमा कांग्रेसले ९० सिटमा दाबी प्रस्तुत गरेपछि सत्ता गठबन्धनमा रहेका अन्य दलहरू बाम गठबन्धनको गृहकार्यमा जुटेका छन् । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले बहुमत सिट दाबी गरेसँगै सत्ता गठबन्धनमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीसहितका पार्टीहरू बाम गठबन्धनको गृहकार्यमा जुटेका हुन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनमार्फत पहिलो पार्टी बनेको कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि बहुमत सिट पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ । तर, उक्त प्रस्ताव माओवादी र एकीकृत समाजवादीले अस्वीकार गरेका छन् । निर्वाचनको मिति अघि नै सिट बाँडफाँटको टुंगो लगाउनुपर्ने दबाब दिँदै आएका कांग्रेस बाहेकका अन्य गठबन्धन दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र बाबुराम भट्टराईसहितको समूहबीच बाम गठबन्धन निर्माण गर्ने विषयमा गृहकार्य भइरहेको छ ।

कांग्रेसमाथि दबाब बढाउन माओवादी र एकीकृत समाजवादीका केही नेताहरूले एमालेसँग संवादसमेत अघि बढाइसकेका छन् । माओवादीका नेता नारायणकाजी श्रेष्ठको समूहले आगामी निर्वाचनमा कांग्रेस बाहेकका वाम पार्टीहरूबीच गठबन्धन हुनुपर्ने भन्दै नेतृत्वमाथि दबाब सिर्जना गर्दै आएको छ । श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न नसक्ने चेतावनी दिँदै भन्नुभयो– ‘नागरिकता विधेयक, एमसीसी र एसपीपीमा माओवादी केन्द्रले पार्टीको अडानविपरीत नेपाली कांग्रेसलाई साथ दिएको थियो ।

तर, गठबन्धनको नाममा सधैं बलजफ्ती स्वीकार्न सकिँदैन । हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरूमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’श्रेष्ठले अहिलेको सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाउँदै केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो । श्रेष्ठले अहिले पनि एमालेका नेताहरूसँग पार्टी एकता सम्भव नभए पनि निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जानुपर्ने प्रस्ताव राख्दै आउनुभएको छ ।

तर, माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने संसद् विघटन गर्ने एमालेसँग बाम एकता हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुयभो– ‘कांग्रेससँगको सहकार्य कायमै रहन्छ, बाम पार्टीहरूको बीचमा गठबन्धन गरेर जाने विषयमा गम्भीरताको साथ छलफल अघि बढाएका छौं ।’ सिट बाँडफाँटमा सत्ता गठबन्धनमा रहेका दलहरूमा आ–आफ्नो दाबी हुन स्वभाविकै भएको बताउँदै उहाँले दलहरूबीच समझदारी कायम गरेर अन्तिम समयमा निर्णय हुने बताउनुभयो ।

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीभित्र पनि कांग्रेस बाहेकका बाम गठबन्धनको बीचमा गठबन्धन गर्न गृहकार्य अघि बढेको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीहरूबीच गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने बताउँदै भन्नुभयो– ‘अहिले पनि कम्युनिस्टहरूको जनमत बलियो छ, पार्टी फरक–फरक हुँदा समस्या भएको हो, गठबन्धन गरेर निर्वाचनमा जाँदा राम्रो परिणाम आउन सक्छ ।’

कम्युनिस्ट पार्टीहरूबीच बाम गठबन्धनको गृहकार्य चले पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने अहिलेकै सत्ता गठबन्धनमा रहेका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ ।नेपाली कांग्रेसका नेता राजन केसीले बाम गठबन्धन चाहना नभई राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । उहाँले फरक विचार भएका दलहरूसँग गठबन्धन गर्नु आफैंमा कठिन काम भएको बताउँदै लोकतन्त्रलाई बचाउनका लागि अझै पनि कांग्रेसले अहिलेको गठबन्धनलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘समाजवादी केन्द्र बनाएर एमालेलाई देखाएर कांग्रेसलाई दबाब दिने कुरा हुन सक्छ, विगतमा पनि सरकारमै रहेको बेला कम्युनिस्टहरूको बीचमा पार्टी एकता भएकै हो ।’केसीले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि पनि अहिलेको गठबन्धन आवश्यक भएकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्