ननग्रेडेडले कक्षा ११ पढ्न नपाउने, प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अंकभारको व्यवस्था छ । ती विद्यार्थीले प्राविधिक शिक्षातर्फका प्रि–डिप्लोमा र सोसरहका कोर्समा भर्ना भई अध्ययन गर्न पाउनेछन् ।
काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ । ननग्रेडेड अंक नकटाएसम्म एसईई उत्तीर्ण भएको प्रमाणपत्र पाउँदैनन् । लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था गरेको छ ।
यो कार्यविधि यो साता प्रकाशित हुने तयारीमा रहेको एसईई परीक्षामा लागु हुनेछ । कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो ।
बोर्डले समग्रमा प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र दिइने छैन । ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था छ । गत वर्षसम्म ९ समूह कायम रहेको कार्यविधि एकाएक परिवर्तन गरी ८ समूह छ । यो वर्ष डी प्लस, ई प्लस र ई समूह हटाइएको छ ।
बोर्डले गएको वर्षको लब्धाङ्कपत्रमा सबै विषयमा परीक्षा दिएको उल्लेख गरेर मूल प्रमाणपत्र उपलब्ध गराएको थियो । अब माथिल्लो कक्षा अध्ययन गर्न मूल प्रमाणपत्र पाउनैपर्छ । सय पूर्णाङ्कको विषयको परीक्षा दिएमा सैद्धान्तिकमा २६ दशमलव २ र प्रयोगात्मकमा १० अंकभार ल्याउनैपर्छ । गत वर्षसम्म परीक्षामा प्रयोगात्मकमा २५ अंकभार ल्याएर सैद्धान्तिकमा १० अंक ल्याए पनि माथिल्लो कक्षा अध्ययन गर्न पाउने व्यवस्था थियो ।
अघिल्लो परीक्षा नियन्त्रक रामराज खकुरेलले नयाँ व्यवस्थाको कारण कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या ह्वात्तै घट्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘ननग्रेडेड नकटाएसम्म मूल प्रमाणपात्र नपाउने व्यवस्था उल्लेख भएपछि हजारौं विद्यार्थी कक्षा ११ पढ्नबाट वञ्चित हुन सक्नेछन् ।’ उहाँका अनुसार नयाँ कार्यविधिमा डी प्लस हटाइएको छ । ए प्लसदेखि सी सम्म १० अंकको फरक गरिएको छ भने डी मा ५ अंकको फरक उल्लेख छ ।
गएको वर्ष ए प्लसदेखि ई सम्म १० अंक फरक थियो ।पनिकाले परीक्षामा गणितबाहेक सबै विषयमा प्रयोगात्मक अंकभार दिने व्यवस्था गरेको छ । अब प्रयोगात्मक र सैद्धान्तिक परीक्षामा तोकिएको प्रतिशत वा ग्रेड ल्याएपछि मात्र उत्तीर्ण हुनुपर्नेछ । पनिकाले लब्धाङ्कपत्रमा प्रयोगात्मक र सैद्धान्तिक परीक्षाको अंक जोडेर ग्रेड प्वाइन्ट एभरेज (जीपीए) उल्लेख गर्नेछ ।
कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले लब्धाङ्कपत्रमा प्रयोगात्मक र सैद्धान्तिक अंकभार उल्लेख गरी अन्तिममा जीपीए उल्लेख गर्ने व्यवस्था गरेको बताउनुभयो ।
कार्यविधिमा प्रयोगात्मक र सैद्धान्तिकमा अनिवार्य रूपमा उत्तीर्ण हुनैपर्ने व्यवस्था गरेको छ । दुई विषयमा ननग्रेडेड आएमा ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था छ । तर दुईभन्दा बढी विषयमा ननग्रेडेड आएमा ती विद्यार्थीले अर्को वर्ष पूरै परीक्षा दिन पाउने व्यवस्था छ ।‘दुई वा सोभन्दा बढी विषयमा ननग्रेडेड अंक उल्लेख भएमा ती विद्यार्थीले कक्षा ११ को परीक्षामा भर्ना हुन पाउने छैनन्’ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भन्नुभयो ।
गएको वर्ष डी ल्याएका विद्यार्थीले ११ मा भर्ना हुन नपाउने व्यवस्था थियो । तर, लचिलो कार्यविधि भएका कारण अधिकांश विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए । अब सैद्धान्तिक र प्रयोगात्मकमा तोकिएको अंक ल्याएपछि मात्र उत्तीर्ण हुने उल्लेख भएपछि यो वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या अत्यन्तै न्यून हुने आशंका गरिएको छ ।ननग्रेडेड अंकभार ल्याएका विद्यार्थीले स्वदेशमा रहेका विदेशी बोर्डसम्बद्ध शिक्षण संस्था र अन्य मुलुकमा गई कुनै पनि बोर्डमा भर्ना भएर माथिल्लो अध्ययन गर्न पाउने छैन । तर, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तर्फका प्रि–डिप्लोमा र सो सरहका कोर्समा भर्ना भई अध्ययन गर्न पाउन व्यवस्था उल्लेख छ ।
परीक्षामा फरक प्रकारको लब्धांकपत्र तयार गर्नुपर्ने भएकाले परीक्षाफल प्रकाशित हुन विलम्ब भएको हो । परीक्षा नियन्त्रक रायमाझीले साउनको दोस्रो साताभित्र परीक्षाफल प्रकाशित भइसक्ने दाबी गर्नुभयो । बोर्डका अध्यक्ष शर्माले कम्तीमा ४ दिनभित्र परीक्षाफल प्रकाशित भइसक्ने दाबी गर्नुभयो ।
बोर्डले डाटा इन्ट्री र रुजु सकेर टेबुलेसन गरिरहेको छ । पनिकाले आन्तरिक र आवधिक मूल्याङ्कन वा सैद्धान्तिक र प्रयोगात्मक मूल्याङ्कनको भिन्नाभिन्नै अभिलेखीकरण गरिरहेको छ । एसईई २०७८ मा ५ लाख १४ हजार ७ सय ९ सय ७७ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा छात्रा २ लाख ५७ हजार ९ सय २४ छन् । छात्रको संख्या २ लाख ५७ हजार ५३ छ ।
प्रतिक्रिया