‘गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ’

0
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराउनुभयो ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली सबलिकरण विषयक छलफल तथा अन्तक्र्रियामा अध्यक्ष तिमिल्सेनाले संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनलाई सही ढङ्गले अगाडि बढाउनका लागि राजनीतिक दलले आगामी दिनमा थप समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली जनताको बलिदानी र त्यागबाट सङ्घीय राज्यव्यवस्था स्थापित भएको बताउँदै यस व्यवस्था विरुद्ध हुने घेराबन्दीको विरोध गर्न अपिल गर्नुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाएमा देश समृद्ध हुने बताउँदै सङ्घीयता विरोधीले गरिरहेको हल्लालाई गलत सावित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरले संविधानले प्रदान गरेको अधिकारलाई सहीढङ्गले कार्यान्वयन गरेमा सङ्घीयता संस्थागत हुने बताउनुभयो । सभामुख घर्तीले व्यवस्था विरुद्धमा आउने आवाजलाई सबै मिलेर आम जनतामा पु¥याउनुपर्ने बताउनुभयो ।