‘एसपीपीबारे जानकारी गराउन ढिला भएकोमा अन्यथा मान्नु पर्दैन‘

0
Shares

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) अघि बढाउन नसकिने कुरा अमेरिकालाई जानकारी गराउन अलिकति ढिला हुँदैमा अन्यथा मान्न नहुने बताउनुभएको छ ।

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्मले आज (शुक्रबार) ललितपुरमा आयोजना गरेको कार्यक्रममा जसपा अध्यक्ष यादवले भन्नुभयो–‘गठबन्धनका सबै पार्टीले एकमत भएर एसपीपी अघि बढाउन सकिँदैन भनेको छ । मन्त्रीपरिषद्ले पनि अघि नबढाउने निर्णय गरिसकेपछि अब द्विविधा अन्त्य भइसकेको छ । मन्त्रीपरिषद्को निर्णय परराष्ट्र मन्त्रालयले सम्बन्धित च्यानलमार्फत जानकारी गराउन अघि ढिलो मात्र भएको हो । यसलाई अन्यथा मान्नु पर्दैन ।‘

उहाँले नेपाल कुनै पनि शक्ति राष्ट्रको सुरक्षा रणनीतिक साझेदार बन्न नहुनेमा जोड दिंदै कुनै एउटा राजनीतिक पार्टीको झुकावको आधारमा परराष्ट्र नीति बनाउनु नहुने बताउनुभयो ।

कार्यक्रममा कुटनीतिज्ञ डा. दिनेश भट्टराईले एसपीपीमा रणनीतिक साझेदारी भनेको के हो, त्यसमा सरकारको स्पष्ट व्याख्या आउन जरुरी भएकोमा जोड दिनुभयो । उहाँले परराष्ट्र सम्बन्धमा यसरी नै खेलाँची गरिरहने हो भने नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान बन्ने खतरा औंलाउनुभयो ।

अमेरिकाका लागि पूर्व राजदूत डा. सुरेश चालिसेले सैनिक सहायताको जगमा नै नेपाल–अमेरिका सम्बन्ध शुरु भएको जिकिर गर्दै भन्नुभयो– ‘एसपीपी प्राकृतिक विपद व्यवस्थापनमा सेनाको दक्षता बढाउने विषयसँग सम्बन्धित भएकोले यसलाई एउटा अवसरको रुपमा उपयोग गर्न सकिन्छ ।‘ उहाँले दुई छिमेकी भारत र चीनको सुरक्षा चासोलाई ध्यानमा राख्दै अर्को विश्वशक्ति अमेरिकासँगको सम्बन्धलाई पनि जोगाइराख्न आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले भन्नुुभयो– ‘दुई छिमेकी मिल्दा लिपुलेक सम्झौता नेपाललाई थाहै नदिइकनै गरिएको थियो । यस्तो अवस्थामा हामीलाई सुपर पावरको साथ आवश्यक हुन्छ ।‘
कार्यक्रममा पूर्व प्रधानसेनापति गौरब शम्शेर जबराले नेपाली सेना देशको अखण्डता, सार्वभौमसक्ता र स्वतन्त्रताको रक्षक भएकोले सेनाबाट कहिल्यै देशको हितविपरित काम नभएको दावी गर्नुभयोे ।