काभ्रेमा करार कर्मचारी हटाएको विरोधमा प्रसूतिसहित स्वास्थ्य सेवा ठप्प

0
Shares

काभ्रे । स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिले करार कर्मचारी हटाएपछि स्थानीयले स्वास्थ्य सेवा अवरुद्ध पारेका छन् । बिना कारण उनीहरूलाई हटाएको विरोधमा स्थानीयबासीले भुम्लु र खानीखोला गाउँपालिकामा स्वास्थ्य सेवा अवरुद्ध पारेका हुन् ।

राजनीतिक आस्थाका आधारमा सत्ता निकट राजनीतिक दल निर्वाचित भएका स्थानीय तहमा करार कर्मचारी हटाएसँगै जिल्लाको भुम्लु र खानीखोला गाउँपालिकामा स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कार्यरत कर्मचारीहरुलाई हटाउनुअघि नयाँ कर्मचारी नियुक्ति नगरेका कारण स्थानीयबासी स्वास्थ्य सेवाबाट समेत बञ्चित भएका छन् ।

‘जिल्लामा डेँगु, पखाला, फ्लु तथा कारोना महामारीको अर्काे लहर फैलन थालेको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भने, ‘यस्तो बेला सबै स्वास्थ्यकर्मी कार्य क्षेत्रमा खटिनु आवश्यक छ ।

खोपको नियमितता लगायतका नागरिकहरुको स्वास्थ्यलाई प्रभावित हुन नदिन संकटमा काम गरेका स्वास्थ्यकर्मीहरु झनै सक्रिय हुनु आवश्यक छ ।’

यस्तो संकटमा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको समेत राजनीतिक आस्थाका आधारमा करार नथपेकाले भुम्लु गाउँपालिका र खानिखोला गाउँपालिकामा स्वास्थ्य संस्था ठप्प भएका हुन् । मण्डन देउपुर गाउँपालिकामा भने १५ जनामा १ जनाको मात्रै करार नविकरण गरिएको छैन ।

विकट क्षेत्र खानीखोला गाउँपालिकामा करार सेवामा कार्यरत विभिन्न पद र शाखामा काम गर्ने झण्डै ३० जना कर्मचारी हटाईएको छ ।

गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकीमा करार सेवामा कार्यरत रहेका मध्ये फलामेटार स्वास्थ्य चौकी खानीखोला २ मा हेल्थ असिस्टेन्ट अमर तितुङ, अनमी अनुस्का सारु मगर, साल्धारा स्वास्थ्य चौकी खानीखोला ६ मा कार्यरत हेल्थ असिस्टेन्ट अजय सारु मगर, मिल्चे स्वास्थ्य चौकी खानीखोला ७ मा कार्यरत हेल्थ असिस्टेन्ट प्रशान्त थोकर तामाङ, सामुदायिक स्वास्थ्य इकाइ, खानीखोला ४ मा कार्यरत असिस्टेन्ट हेल्थ विर्कर चन्द्रबहादुर लुङ्गेली मगर, डाँडागाउ स्वास्थ्य चौकी खानीखोला ४ मा कार्यरत रहेकी अनमी अनुशा लुङ्गेली मगर, जुरे आधारभुत स्वास्थ्य केन्द्र खानीखोला ३ मा कार्यरत अनमी सवीना दर्लामी मगर हटाईएको छ ।

नियमित खोप सेवा र सुत्केरी सेवा समेत अबरुद्ध भएको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य सेवाका स्थायी कर्मचारीहरु समेत कार्य क्षेत्रमा छैनन । डाँडागाउँ स्वास्थ्य चौकीकी हेल्थ असिस्टेन्ट रसिला थापा शहरमा छिन् ।

स्थानीय पवन तामाङले खानीखोला २ फलामेटार स्वास्थ्य चौकीमा (बर्थिङ सेन्टर) सेवा अवरुद्ध भएको बताए । बिगत १ हप्ता देखि नै नर्सिङ कर्मचारी (अनमी) बिना नै सेवा प्रवाह भइरहेको हुँदा सेवा लिन आउने गर्भवती महिला, परिवार नियोजनको लागि आउने महिलाहरुलाई सेवा लिन तथा चेकजाँचको लागि असहज महशुस भएको स्थानीय महिलाहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत अनुष्का सारु मगरलाई स्वास्थ्य चौकीका इन्चार्ज राम रतन यादवले झुक्कायर तिम्रो करार अवधि थप गरिन्छ काम गर भन्दै ३ दिन खोपको काम लगाए पछि फर्काएका छन् ।

करार सेवामा कार्यरत गाउँपालिकाको पशु सेवा शाखाको सेवा पूर्ण रूपमा बन्द छ । कार्यरत शाखा प्रमुख नैं बजार बसिरहेका छन् । यस्तै गाउँपालिकामा पनि प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद अधिकारी बजार बसेर निमित्त शिक्षा शाखा हेर्ने विष्णु अधिकारीलाई दिइएको छ ।

लेखापाल बम बहादुर विक पनि शहरमा बसिरहेका छन् । गाउँपालिकामा जम्मा तीन जाना कर्मचारी मात्रै छन् जसमा ५ नम्बर वडाका वडा सचिव चण्डीका थापा, ७ का वडा सचिव पिर्थु जिसी र उनै निमित्त प्रशासकिय अधिकृत छन् ।

कृषि भेटेरिनरी र इन्जिनियरिङ शाखा पूर्ण रूपमा ठप्प छ । गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष लगायत जनप्रतिनिधिहरु शहरमा छन् ।