धुलिखेलमा रोटरीले उपलब्ध गरायो २५० ह्वीलचेयर

अपाङ्गमैत्री शहर निर्माणमा थप सहयोग

0
Shares

काभ्रे।

धुलिखेल नगरपालिकालाई अपाङ्गमैत्री शहर निर्माण गर्ने योजना अनुसार रोटरी क्लव धुलिखेलले नगरपालिकालाई २ सय ५० थान शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्वीलचेयर उपलब्ध गराएको छ । रोटरी क्लव मार्फत देशका विभिन्न क्षेत्रमा ३ हजार वटा ह्वीलचेयर उपलब्ध गराउने योजना अनुसार धुलिखेल नगरपालिकालाई २ सय ५० वटा ह्वीलचेयर उपलब्ध गराएको हो ।

रोटरी क्लव अफ धुलिखेलका पूर्व अध्यक्ष एवं ह्वीलचेयर ब्यवस्थापन तथा वितरण समितिका संयोजक अशोक श्रेष्ठले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई ह्वीलचेयर हस्तान्तरण गर्नु भएको थियो । यस अघि रोटरी क्लव अफ धुलिखेलले ५० वटा ह्वीलचेयर धुलिखेल नगरपालिकालाई उपलब्ध गराएको रोटरी क्लव अफ धुलिखेलका पूर्व अध्यक्ष शुशिल ब्याञ्जुले बताउनु भयो ।नगरपालिकालाई अपाङ्गमैत्री शहरका रुपमा विकास गर्न अपाङ्गता परिषद् गठन गरी परिषद् मार्फत विभिन्न गतिविधी भईरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । नगरपालिकाले शहरी नीति तथा कार्यक्रमहरुमा अपांगता भएका ब्यक्ति लगायत जोखिममा रहेका सबैको मुलप्रवाहीकरण परियोजना निर्माण गरी नेपालकै पहिलो शहरका रुपमा अघि बढाउने उदेश्यले संरचनाहरु निर्माण भईरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । दिगो विकास लक्ष्य अनुसार चारवटा पुरा भईसकेको र थप दुईवटा लक्ष्य पुरा गर्ने उदेश्यले अपांगता भएका ब्यक्तिहरुका लागि सहजता तथा आत्मनिर्भर बनाउन तालिम तथा सहयोगी सामाग्रीहरु उपलब्ध गराईएको उहाँले बताउनु भयो ।

रोटरी क्लव अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठले धुलिखेल नगरपालिकाको अनुरोधमा नेपाल नगरपालिका संघ मार्फत देशभरका विभिन्न स्थानका लागि ३ हजार वटा ह्वीलचेयर ताईवानबाट नेपाल झिकाईएको बताउनु भयो । निशुल्क उपलब्ध भएका ह्वीलचेयर नेपालमा ल्याउन विभिन्न कठिनाई भएको बताउँदै श्रेष्ठले आगामी दिनमा ताईवानको लगानीमा चीनमा निर्माण भई नेपालको सिमा विरगञ्जसम्म सहजै आउने गरी सम्झौता भएको श्रेष्ठले बताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष जीवनकाजी माकजुले रोटरीले धुलिखेलमा शुरु भएका रोटरी र स्थानीय सरकारसँगको साझेदारीतालाई फराकिलो बनाउँदै आगामी दिनमा बृहत्त कार्य गर्ने बताउनु भयो । यस अघि धुलिखेल नगरपालिका र रोटरी क्लवसँगै काठमाडौ विश्वविद्यालयको समन्वयमा हाईड्रोजन ग्याँसबाट धुलिखेल काठमाडौ बस संचालन गर्ने सम्झौता भईसकेको छ ।

नगरपालिकाले धुलिखेल नगरपालिका भित्र भएका सबै खालका अपांगता भएका ब्यक्तिहरुको सहजताका लागि सहयोगी सामाग्री वितरण गरिरहेको सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले बताउनु भयो ।