कोरोना संक्रमण फेरि बढ्दै

एकको मृत्यु, ४ सय ५७ संक्रमित



काठमाडौं  । 

पछिल्लो २४ घण्टामा नेपालमा चार सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये २ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८६ र २ हजार ३ सय १० को एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।यो संक्रमित संख्या विगत ५ महिना यताको सबैभन्दा धेरै हो । योसँगै कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । आइतबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यसअघि वैशाख २१ गते एक जनाको र त्योभन्दा अघि चैत ८ गते एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्