बिहीबारसम्म नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान

तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । 

जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले वर्षाले नदीमा पानीको बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाले सोमबारदेखि विहीबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र यसबाट नदीमा पानीको बहाव बढ्नसक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको हो ।

पहाडी भू–भागमा भू–क्षय, गेग्रान बहाव, पहिरोको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन-यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने मौसमविद् हिरा भट्टराईले नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले भोलि रातिबाट बिहीबारसम्म ठूलो पानी पर्ने जानकारी पनि दिनुभयो । आज मंगलबार महाकाली र कन्काई लगायतका केही सहायक नदीहरूमा बहाव बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने जनाउँदै महाशाखाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसै गरी बुधबार गण्डकी प्रदेश र वागमती प्रदेशको पहाडी भूभाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभाग भई बग्ने केही साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाका सूचनाको आधारमा विभिन्न जिल्ला प्रशासन कार्यालयले आवश्यक सतर्कता अपनाउन, जोखिम न्यूनीकरण कार्यको पूर्वतयारी अघि बढाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

महाशाखाले सोमबार दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गर्दै देशको पहाडी भूभागका केही स्थानमा र बा“की भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने जनाएको छ । सोहीअनुरूप काठमाडौं, पाल्पा, तनहु“, मकवानपुर, इलाम र झापामा सोमबार पानी परेको थियो । बिहान करिब ६ बजेतिर प्रदेश १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

सोमबार भएको एक घण्टाको वर्षाको मापन गर्दै महाशाखाले काठमाडाैंको विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको जनाएको छ । विष्णुमती र गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १ दशमलब ५ मिटरले बढेको जानकारी दिंदै महाशाखाले विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामी तीन दिनसम्म मुख्य नदीहरू कोशी, नारायणी, कर्णाली, कमला, वागमती, पूर्व राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव बढ्ने देखिएको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।काठमाडौं उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२ दशलमव ३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन भएको थियो । यो यस वर्षको मनसुन अवधिकै सबैभन्दा बढी तापक्रम हो ।

सोमबार सोलखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की,लमुजुङ, रोल्पा, पश्चिम रुकुम, सुर्खेत, दैलेख, बाजुरा, बझाङ र बैतडी आसपासका नदीहरूमा बहाव बढ्ने पहिरो आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्