पहिलोपटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै



काठमाडाैं । 

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमै पहिलोपटक नागढुंगामा ‘भेहिकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य शुरू गरेको हो । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ ।

नगरप्रमुख घनश्याम गिरीले नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेहिकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । नयाँ प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?’ उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।

मेसिनको मूल्य करिब दुई करोड ५० लाख पर्ने जनाइएको छ ।नगर प्रमुख गिरीका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ । उहाँले यसबाट चन्द्रागिरि नगरपालिकालाई मात्र नभई समग्र उपत्यकाका सबै पालिका एवं संघीय सरकारलाई समेत फाइदा पुग्ने बताउनुभयो । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘सम्भव भए नगरपालिका आफैंले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ, नत्र अन्य उपाय अवलम्बन गर्छाै ।’

काठमाडौं महानगरपालिका पनि नागढुङ्गामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको छ । फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुगेका कामपाका प्रमुख बालेन्द्र साहले भन्नुभयो – ‘नागढुङ्गामा भेहिकल स्क्यानिङ मेसिन राख्ने चन्द्रागिरिका मेयरसाहेबको प्रस्तावमा म सकारात्मक छु । मेसिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौं । सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मेसिन’ पनि राखौं ।’

हालसम्म उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरूको दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम पनि उनीहरूले नै गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्