तराईका बजारमा हरियो पहिरन किन्नेको चहलपहल



सप्तरी ।

सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीया रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन ।

उनका अनुसार हरेक वर्ष साउनभर हरियो पहेँलो लगाउँदा मनमा सान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियो पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेको बताइन ।

साउनको पहिलो दिनदेखि नै तराईका साना ठूला बजारमा हरियो, पहेँलो पहिरन किन्ने किशोरी र महिलाहरूको चहलपहल बढेको छ । झाले पनि घरपरिवारका सबै महिलाका लागि हरियो चुरा, पोते, टीका किनेको बताइन ।

सप्तरी राजविराज नगरपालिका-७ की २० वर्षीया पार्वती यादवले पनि हरियो चुरा र टीका किनिन् । साउन लागि सक्यो । सम्झना भएदेखि प्रत्येक वर्ष साउनको सुरूवातसँगै हरियो पहिरन लगाउँदै आएको र यसपालि पनि किनेर ल्याएको उनले बताइन् ।

राजविराज नगरपालिका-१ की ४६ वर्षीया हेमलता चौधरीले पनि १ साउनबाटै हरियो चुरा, टीका र पोते लगाउन थालेकी छिन् । उनले भनिन् किन लगाउँछु भन्दा पनि सबैले लगाउने हुँदा आफूले पनि लगाउने गरेकी छु ।

सबैले लगाएपछि आफूले मात्र नलगाउँदा नरमाइलो लाग्ने गरेको उनको भनाइ छ । उनले भनिन्, झसाउन महिना भगवान शिवजीक‍ो प्रिय महिना हो । शिवजीलाई हरियो रंग मन पर्ने भएकोले चारैतिर हरियाली छाउने गरी हरियो पहिरन लगाएकी हुँ ।

प्रतिक्रिया दिनुहोस्