स्वास्थ्यमा क्रियाशील संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने

0
Shares

काठमाडौं।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि ७ सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिने बताउँनुभएको हो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुन्छ । कार्यदलले समस्यामात्रै होइन मन्त्रालयलाई सुझाव पनि दिनेछ । कार्यदलबाट तत्काल के गर्न सकिन्छ ? दिर्घकालीन के गर्न सकिन्छ ? ठोस योजना बन्नेछ । त्यहि अनुसार अघि बढ्न सकिन्छ ।’ उहाँले स्वास्थ्यका समस्या हल गर्न मन्त्रालय सदैब कटिबद्ध रहेको बताउँनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुसंग संगै रहेर काम गर्दै आएको बताउँनुभयो । डा.पोखरेलले आफ्ना हकहितसंगै जनतासंग जोडिने गरी काम गर्नुपर्ने बताउँनुभयो ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताउँनुभयो ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षरशं पालना हुनुपर्ने बताउँनुभयो । उहाँले भन्नुभयो, स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठन र मन्त्रालयका अधिकारीबिच स्वास्थ्यकर्मीलाई जोखिम भत्ता,स्वास्थ्यलाई संघमा राख्ने, समायोजन लगायत विविध विषयमा सम्झौता भयो । ती सम्झौता कार्यान्वयन हुनुपर्ने देखिन्छ । ’

सहभागी सरोकारवालाहरुले कानुन सम्मत भएको स्तरबृद्धी किन बदर भयो ? भन्दै प्रश्न गरे । यस्तै, स्वास्थ्यका कर्मचारीको अभिलेख नभएको गुनासो गरे । स्वास्थ्य सेवा ऐन अलग्गै हुनुपर्ने सहभागीको जोड थियो । स्वास्थ्य राज्य मन्त्री केसीको पहलमा स्वास्थ्य मन्त्रालयमा आइतवार कृयाशील स्वास्थ्यकर्मीहरुसंग छलफल भएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.संगीता कौशल मिश्राले गर्नुभएको थियो ।