असारमा थपिए २ लाख ५० हजार ७ सय २६ मतदाता



काठमाडौं । 

असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार ९ सय ९२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेको थियो । आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली संकलन कार्य सञ्चालन गरेको हो ।

आयोगका अनुसार सबैभन्दा बढी वागमती प्रदेशबाट ६२ हजार ८ सय ५, प्रदेश १ बाट ५३ हजार ७ सय ७५ र मधेश प्रदेशबाट ४७ हजार ७ सय ५२ जनाले नामावली दर्ता गराएका छन् ।जिल्लाको हिसाबले नामावली दर्ता गराउनेमा सबैभन्दा बढी झापाका १३ हजार ७ सय ४४ छन् । १३ हजार ४ सय ५५ जनाले नामावली दर्ता गराएको मोरङ दोस्रो सबैभन्दा बढी नामावली दर्ता भएको जिल्ला हो ।

प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा बसोबास गरिराखेका र काठमाडौंमै मतदान गर्नका लागि १० हजार ९ सय १६ जनाले नामावली दर्ता गराएको छ । बाहिरी जिल्लामा मतदान गर्ने तर काठमाडौंमा नामावली दर्ता गराएकाको संख्या १० हजार २ सय ७७ छ ।आयोगले अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । काठमाडौंमा बसिरहेका उपत्यकाका बाहिरका कुनै जिल्लाको स्थायी मतदाता भएका व्यक्तिले पनि त्यही आफू बसेकै ठाउँमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था गरिएको थियो । त्यसरी दर्ता गरिएको नामावली सम्बन्धित जिल्लामा पठाउने पनि आयोगले जनाएको छ ।

७७ वटै जिल्लाका प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने पनि आयोगले जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अनलाइनको माध्यमबाट मतदाता नामावली दर्ता गराउने कार्य भइरहेको छ । अनलाइनमा आधारित मतदाता नामावली दर्ता गर्ने पद्धति (वेबबेस्ड भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम) को प्रारम्भिक परीक्षणको रूपमा सो प्रबन्ध गरिएको हो ।

निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली अद्यावधिक गर्न नहुने कानुनी बाध्यता रहेको जनउँदै आयोगले प्रदेश र संघको निर्वाचनको लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई अहिलेको मुख्य प्राथमिकतामा राखेको छ ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्