‘फोहर व्यवस्थापनमा कामपालाई सहयोग गर्छाैँ’


काठमाडौँ।

चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाकाका प्रमुखका बीचमा पहिलोपटक आपसी संवादसमेत भएको छ ।

कामपा आगामी साउन १ गतेदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्दैछ । ‘स्रोतमा नै फोहर नमिसाउने’ अभियानअन्तर्गत कामपाले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहर सङ्कलन गर्न लागेको जनाइएको छ । जनचेतना जगाउन उसले घरदैलो अभियान जारी राखेको छ ।

चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र कामपा प्रमुख बालेन्द्र साहबीच आज चन्द्रागिरि नगपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहकार्य गर्दै जाने विषयमा छलफल भएको छ । छलफलमा प्रमुख गिरीले भने, “फोहर व्यवस्थापन साझा समस्या भएकाले काठमाडौँ महानगरपालिका अवलम्बन गरेको नीतिलाई सधैँ साथ र सहयोग गर्न चन्द्रागिरि नगरपालिका प्रतिबद्ध छ । सकेसम्म नगर क्षेत्रबाट उत्पन्न हुने फोहर नगरपालिकाभित्रै व्यवस्था गर्ने नीति लिएका छौँ ।”

उनले कुहिने फोहरबाट कम्पोष्ट मल बनाई आयआर्जनको माध्यम बनाउन निजी क्षेत्रलाई नगरपालिकाले उत्प्रेरणा दिइरहेको जानकारी दिँदै फोहर व्यवस्थामा काठमाडौँ उपत्यकाका नगरपालिका बीचमा एकीकृत नीतिका साथ सहकार्य आवश्यक रहेको बताए । नगरप्रमुख गिरीले कुहिने र नकुहिने फोहर अलग–अलग राख्न नगर क्षेत्रमा जनचेतना जगाइने र यसका लागि विद्यालय, धार्मिक सङ्घसंस्था, गुठीका साथ जनप्रतिनिधिलाई परिचालन गरिने जानकारी दिए ।

कामपाका प्रमुख साहले महानगरपालिकाले साउन १ गतेदेखि फोहर व्यवस्थाअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्न लागेको जानकारी दिँदै महानगरसँग जोडिएका अन्य नगरपालिकामा पनि यही यसरी नै फोहर सङकलन गर्न आग्रह गरे। उनले भने, “स्रोतमा नै फोहर नमिसाउने अभियान महानगरपालिकाले सञ्चालन गर्दैछ । साझा अभियानले नै सफलता प्राप्त गर्न सक्छ । यसमा उपत्यकाका सबै नगरपालिकाको साथ र सहयोग आवश्यक पर्छ । फोहर व्यवस्थापन साझा समस्या हुन् मिलेर समाधान निकाल्न म आग्रह गर्दछु ।”

प्रमुख साहले ‘कुहिने र नकुहिने फोहर अलग–अलग छुट्याउन आग्रह गर्दै कुहिनेबाट सकेसम्म कम्पोष्ट मल बनाउन र नकुहिनेलाई बिक्री गर्न बानी पार्न आवश्यक छ’ भने । उनले भने, “फोहर व्यवस्था गर्न विकेन्द्रित नीति आवश्यक हुन्छ । उपत्यकाका फोहर व्यवस्थापन मानसिक समस्या हो । यसको दीर्घकालीन समाधान खोजिनुपर्छ । यसका लागि मैले प्राथमिकताका साथ काम गरेको छु ।” उनले विशेषगरी उपत्यकाको फोहरमैला व्यवस्थालगायत अन्य विषयमा कामपासँग जोडिएका नगरपालिकाका प्रमुखसँगको छलफललाई तीव्रता दिइरहनुभएको छ ।

सार्वजनिक शौचालयका लागि जमिन उपलब्ध

छलफलमा चन्द्रागिरि वडा नं १५ का वडाध्यक्ष घनश्याम लुइँटेलले महानगरसँग सीमा जोडिएको कलङ्कीमा सार्वजानिक शौचालय बनाउन आवश्यक भएकामा जोड दिँदै यसका लागि आफ्नो वडाले जमिन उपलब्ध गराउने जानकारी दिए।

चन्द्रागिरि–२ का ६ वडाध्यक्ष भाइकृष्ण तामाङ, वडा नं ६ का सञ्जय सिग्देल, ८ का प्रल्हाद रिजालले महानगरपालिकासँग नीतिगत सहकार्य र एकताका साथ नगरपालिका अगाडि बढ्ने बताए । कामपाले हरेक आवमा काठमाडौँ उपत्यकाभित्रका १८ नगरपालिकालाइ रु एक करोड प्रदान गर्दै आएको जनाइएको छ ।