बैंकिङ कसूर मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

14
Shares

काठमाडौं।

बैंकिङ कसूर मद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेती बिहीबार पक्राउ परेकी हुन्।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो ।

उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी रकम भुक्तान हुने भनी २०७५ फागुन ५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको व्यूरोले जनाएको छ।