दुर्घटनाको कारण बन्दै फिर्केपुल

पटक-पटक एकै ठाउँबाट खोलामा खस्छन् सवारी साधन

0
Shares

पोखरा ।

पोखराको जिरोकिलोमिटरदेखि हरिचोकसम्मको बाटो अहिले छ लेनको बनेको छ । कालो पिच रहेको सडकमा सवारीको गति हर कोही चालकले तीब्र नै चलाउने गर्छन् । कारण हो फराकिलो सडक । छ लनेको उक्त सडक जति सवारीका लागि फराकिलो छ उतिनै खतरा पनि छ । जिरोकिलोमिटर देखि हरिचोकसम्म जाने भुपिशेरचन राजमार्ग अन्तरगतको उक्त राजमार्गमा एउटा साघुँरो पुल छ । त्यो पुल हो फिर्के पुल । जुन पुल बागलुङ बसपार्क र प्रस्याङको बिचमा पर्दछ ।

बुधबार राति उक्त पुलको छेउबाट २ जना सवार ग ४ प ८३२५ नम्बरको स्कुटर खोलामा खस्यो । हरिचोकतर्फबाट जिरोकिलोमिटर तर्फ आउँदै गरेको स्कुटर फिर्के खोलामा खस्दा दुवै जना घाइते भए । उनीहरु जहाँ खसे त्यहीँ नजिक ठडाइएको पिलरको रड बाहिर निस्किएको छ । पुलबाट खोला करिब २० देखी ५० मिटर मात्रै तल होला। तर, त्यहाँ जुन रुपमा पिलरका लागि बनाइएको विम छ त्यो भने निकै खतराजनक छ । अघिल्लो बैशाखदेखि बिहिबारसम्म एकै स्थानबाट ४ गाडी खोलामा खसिसके । उक्त दुर्घटनामा मानवीय क्षति नभएपनि सवारी क्षतिभने ठुलो भइरहेको छ ।

फराकिलो सडमा साघुँरो पुल त्यसमा पनि ट्राफिक संकेत नहुनुनै दुर्घटनाको मुख्य कारण हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रकाश शाहले फराकिलो सडकमा साघुँरो पुल हुनुनै दुर्घटनाको मुख्य कारण रहेको बताउँछन् ।

यो समाचार तयार पार्न जादाँ तत्काल उनले आफ्नो टोली लिएर दुर्घटना न्युनिकरणका लागि दुर्घटना ग्रस्त क्षेत्रमा २ वटा हिलट्यांक समेत राखे ।
केहि समयपछि राख्ने योजना बनाएका उनले तत्कालै उक्त स्थानमा आफै पुगि दुर्घटना न्युनिकरणका लागि ट्राफिक संकेत सहित उक्त हिलट्यांक राखेका हुन् । उनले त्यसलाई थप प्रभावकारी बनाउन छेउमा सचेतनामुलक बोर्ड समेत राख्ने बताए ।

दुर्घटना हुनेभएपछि यस अघि पनि ट्राफिक प्रहरीले सम्बन्धित निकायलाई पटक–पटक आह्वान गरेको थियो । तर, कुनैपनि निकायले त्यसलाई गहन रुपमा भने लिएन । उनका अनुसार सडक विभागले पुल बनाउने टेन्डर दिएपनि प्राविधिक कारण देखाउँदै पुल निमार्ण हुन नसकेको जानकारी पाएको उनले बताए ।
‘दुवैतर्फ बाटो फराकिलो छ । पुल साघँुरो छ भन्ने कुरा थाहा हुँदैन् । विशेष गरी हरिचोकबाट आउँदा लेनचाहिँ सिधैं पुलको साडइ तर्फ नलागि खोला तर्फ लाग्छ । त्यसकारण त्यहाँ दुर्घटनाहरु बढिरहेका छन्’ उनले भने,‘हामीले सम्बन्धित निकायसंग तुरुन्तै बनाउन आग्रह गरेका छौँ । कहिजो मात्रै नभई पटक पटक हरिचोक तर्फबाट आउने सवारी खस्ने गरेको पाइन्छ ।’

२०७८ बैशाख १० गते ग३च ६५८३ नम्बरको कार पनि त्यहि बाट खसेको थियो । यस्तै सोही वर्षको असार ८ गते ग३च ३२०६ नम्बरको गाडी, भदौ २३ गते युएनको ६०–०–४६७ नम्बरको गाडी समेत उक्त स्थानबाट खसेको थियो । सबै दुर्घटनामा मानविय क्षति नभएपनि पनि सवारी क्षति ठुलो र हरेक पटक घाइते भने भइरहेका छन् । उनले हरिचोक देखी जिरोकिलोमिटर तर्फ अर्थात फिर्के पुल भएर जाने सबै सवारी चालक तथा सर्वसाधारणलाई सचेत हुन आग्रह समेत गरे । सडक प्रयोगकर्ता मात्रै सचेत भएर नहुने बताउँदै सम्बन्धित निकाय पनि सम्बेदनशील भइदिन आग्रह समेत गरे ।

अझै बन्न सकेन पुल

सडक विस्तार भएसंगै पुल भएको स्थानमा नयाँ पुल बनाउने योजना समेत बनेको थियो । २०७७ सालमा टेन्डर भएको पोखरा महानगरपालिका ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उक्त टेन्डर शान्ति आर.ओ.जे. जेभि निमार्ण कम्पनीले प्राप्त गरेको हो । तर, स्थानीयको विरोधका कारण पुल निमार्ण हुन नसकेको उनीहरुको भनाई रहेको बरालले जानकारी दिए । निमार्ण कम्पनीका ठेकेदार भने धेरै रहेका छन् । ती मध्ये दुई जना चाहिँ उमेश शाह र समिर केसी रहेका छन् ।

‘हामीले बुझेँ अनुसार त्यहाँका १८ परिवारले आफ्नो जग्गा परेको भन्दै मुद्धा हालेका रहेछन्’ उनले भने,‘अहिलेसम्म मुआब्जा नपाएकाले काम रोकिएको हो । हामीले सुनेको नेपाल सरकारले अब मुआब्जा दिदैँ छ । मुआब्जा पाएपछि पनि काम रोकियो भने निमार्ण कम्पनीलाई नै कारवाही हुनेछ ।’

उनका अनुसार पुलका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ । पुल ३ वर्षदेखी अलपत्र पर्दा समेत राज्य मौन हुँदा दुर्घटना भने बढेको बढ्यै छ । राज्यको समेत लापरवाहीका कारण उक्त पुल अझै बन्न सकिरहेको छैन् । यस प्रति राज्य गम्भिर हुन आवश्यक छ । सडक विभाग सुतेर बसेकै कारण एकातिर पुल नबनेको हो भने अर्कातिर दुर्घटना भइरहेको हो । उसो त सडक विभाग बारम्बार भ्रष्टचारमा मुछिदैँ आइरहको छ । यो काममा पनि कतै सडकै पनि मिलेमतो भएको हो की भन्ने आशंका पनि उब्जिएको छ । उक्त राजमार्गको मुख्य चुनौती भनेकै सडक सुरक्षा हो । जहिलेसम्म पुल बन्दैन त्यहाँ दुर्घटना भइरहने सम्भावना बढि रहेको छ ।