जिल्ला प्रशासनमा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

0
Shares

काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीहरुको सुविधाको लागि कार्यालय परिसरमा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।
दैनिक चार लाख भन्दा धेरै राजश्व संकलन हुने प्रशासन कार्यालयमा सेवाग्राहिहरुको असुविधालाई सहजता बनाउन काउन्टर स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । ‘ईलेक्ट्रिक राहदानी बनाउन आउने सेवाग्राहिहरुका लागि बैकको काउन्टर नजिकै नभएका कारण झन्झटिलो र असहज भएको थियो’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘दैनिक एक सय भन्दा धेरै सेवाग्राहिहरुले बैकको प्रयोग गर्छन । ८० जना भन्दा धेरै राहदानी बनाउन आउनेहरु छन् भने संघ संस्था नविकरण तथा दर्ता, मुद्दाको धरौटी र अन्य प्रयोजनको राजश्व बुझाउन बैकको काउन्टरले सहज बनाएको छ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले कार्यालयको सुशासन भित्र बैकको काउन्टरलाई प्राथमिकतामा राखी प्रकृया अघि बढाएको केहि महिनामै सेवा शुभारम्भ गर्न सफल भएको बताउनु भयो ।

राष्ट्रिय बाणिज्य बैकले यस अघि मालपोत कार्यालयमा पनि एक्सटेन्सन काउन्टर स्थापना गरेको थियो । धुलिखेल, बनेपा र नमोबुद्धको भकुण्डेमा शाखा स्थापना गरि सेवा दिएको बैकले ग्राहकहरुलाई सन्तुष्ट हुने गरी सेवा प्रदान गर्ने बैकका उपकार्यकारी निर्देशक सरस्वती अधिकारीले बताउनु भयो । नेपाल प्रहरी, शशस्त्र प्रहरी तथा राष्ट्र सेवक कर्मचारीहरुसँगै सर्वसाधारणका लागि पनि बैकले सहुलियत तथा सहज तरिकाले सेवा प्रदान गरिरहेकाले राष्ट्रिय बाणिज्य बैकको सेवा लिन अधिकारीले अनुरोध गर्नु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जिल्ला प्रशासन कार्यालयमा प्राप्त हुने सबै खालका राजश्वहरु बैकमा सोही समयमा सेवाग्राहि आफैले दाखिला गर्न सक्ने सुविधा उपलब्ध भएकाले नागरिकहरु प्रति सरकारी सेवामा थप विश्वसनियता हुने बताउनु भयो । कार्यक्रममा बैकका अप्रेसन विभाग प्रमुख दुर्गाकुमारी कँडेल, धुलिखेल शाखा प्रवन्धक इश्वरीप्रसाद ढुङ्गेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विनोद न्यौपाने लगायतले बैकको सेवालाई प्रभावकारी बनाउन छिटो, छरितो र प्रविधी मैत्री सेवा प्रदान गर्नु पर्ने बताउनु भएको थियो ।