‘सरी’ को सौन्दर्य



शिष्टताको सूचक आत्मालोचना पनि हो । मानवीय त्रुटि प्राकृतिक विषय हो । गल्ती नगर्ने मान्छे हुँदैन । शान्तिका दूत भगवान बुद्धले पनि गल्ती गरेका थिए ।

भगवान भनिएका र महामानव कहलिएका व्यक्तिहरुबाट पनि गल्ती हुन्छ भने सांसारिक मायामोह, व्यापार–व्यवसाय, सम्पन्नताको दौड र अभावको खाडलमा हुर्केका हामी आम व्यक्तिले गल्ती गर्नु अस्वाभाविक होइन । मेरा गल्ती नै छैनन्, म त्रुटिविनाको मानव हुँ भन्नु चाहिं अस्वाभाविक हो ।
सन्दर्भ पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको हो ।

उहाँ अरुलाई तीखा शब्दमा गाली गर्ने, उखान–टुक्काले घोच्ने र अरुको साइज घटाएर आफ्नो उचाइ बढाउने व्यक्तिका रुपमा चिनिनु हुन्छ । हजारौं क्षमताका बाबजुद उहाँलाई ‘घमण्डी’ भन्नेहरु धेरै छन् । तर उहाँले हालै त्यस परिचयलाई तोड्नुभएको छ । राजनीतिक दल र नेताहरुको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको र त्यसमा आफ्नो पार्टी एमाले पनि पर्ने स्वीकार गर्नुभएको छ ।

‘मैले नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रुपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयोहोला’ आफूलाई त्रुटिविहीन मानवका रुपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रुपमा चिनिएका अध्यक्ष ओलीले भन्नुभयो– असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।

एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले सम्भवतः पहिलो पटक आफ्नो भागको कमजोरी स्वीकार गर्नुभयो । उहाँले दलहरुप्रति जनतामा वितृष्णा बढेको स्वीकार मात्र गर्नुभएन, यसको कारण चिरफार गर्ने प्रयास पनि गर्नुभयो, ‘दलहरुप्रति वितृष्णा फैल्याउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरुले सर्वाधिक गरेका छन्, यत्रतत्र भ्रष्टाचार छ, महँगी बढेको छ, जनताको ढाड सेक्ने काम भएको छ, अनाडीहरुले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्को देशघाती काम गरेका कारण दलहरुप्रति वितृष्णा बढ्ने नै भयो ।

’ अध्यक्ष ओलीले केही दल र नेताहरुको कमजोरीका कारण पार्टीप्रति वितृष्णा बढेपनि यसको विकल्प नरहेको, लोकतान्त्रिक शासन व्यवस्थाको ठाउँमा अर्को व्यवस्था आउन नसक्ने धारणा राख्नुभयो, जसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । वास्तवमा आत्मालोचना गर्ने अभ्यास जहाँ हुन्न त्यहाँ सुधारको सम्भावना पनि रहन्न । आफ्ना कमजोरी स्वीकारिएकै क्षणबाट सुधारको सम्भावना सृजना हुन्छ । यसरी हेर्दा, अध्यक्ष ओलीको स्वीकारोक्तिले सिंगो एमालेको लोकप्रियतामा अभिवृद्धि हुन्छ ।

केही समययता राजनीतिक दलको लोकप्रियता घट्ने, दलका नेताहरुप्रति जनताको दृष्टिकोण नकारात्मक हुने जुन अवस्था बढ्यो, त्यसका पछाडि अभिमानपूर्ण आचरण प्रमुख देखिन्छ । गल्ती स्वीकार गर्नु, ‘सरी’ भन्नु सभ्य समाजको परिचायक हो, त्यसले व्यक्तिको व्यक्तित्व नै बढाउने कार्य गर्दछ ।

राजनीतिक दलहरु कुनै पनि मञ्च पाउनासाथ अन्य राजनीतिक दल र त्यसका नेताहरुमाथि प्रमाणविनाका आरोपका भारी बिसाउने गर्दछन्, यस प्रवृत्तिका कारण सबै दलले आकर्षण गुमाएका छन् । जसले बेलैमा आत्मालोचना ग¥यो, ऊ बच्यो, अन्यथा घमण्डी व्यक्तिलाई सभ्य समाजले सम्मान गर्दैन ।

प्रतिक्रिया दिनुहोस्