जसपा विभाजनको पक्षमा बाबुराम, भन्छन्- पार्टीको पुनर्गठन अपरिहार्य



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको पुनर्गठन अपरिहार्य रहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंको जडीबुटीमा आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले आफ्नो पक्षसँग बहुमत रहेपनि नरहेपनि पार्टी पुनर्गठन अपरिहार्य रहेको बताएका हुन् ।

बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने भट्टराईले जनाएका छन् । विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्तिव्यक्तित्व मिलेर हामीले जसपा निर्माण गरेको स्मरण गर्दै उनले त्यसको औचित्य र आवश्यकता झनै टड्कारो भएको बताएका हुन् ।

‘पार्टीको कानुनी वैधता निरुपण गर्ने आफ्नै प्रक्रिया छ । त्यो काम निर्वाचन आयोग गर्दै गर्ला,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘पार्र्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको– दुवै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ ।’

समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय रहेको र त्यो ध्येयबाट आफूहरु किञ्चित विमुख नभएको भट्टराईले प्रस्ट पारेका छन् ।

एनले भने, ‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ,’ उनले भनेका छन्, ‘पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहङगम विचार, विमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्