अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच दुई देश बीचको सम्बन्ध र आपसी हितका बिषयमा छलफल

0
Shares

भक्तपुर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनु भएका चिनिया कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज दुई देश बीचको सम्बन्ध र आपसी हितका बिषयमा छलफल भएको छ ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा अन्तरराष्ट्रिय र क्षेत्रीय राजनीतिमा आईरहेको बदलावका बाबजुद पनि चिन र नेपालका सम्बन्धका आधार पारस्परीक समानता ,हित र लाभका आधारमा अगाडि बढ्नुपर्छ भन्ने बिषयमा उहाँहरुबीच प्रतिबद्धता जाहेर भएको वार्तामा सहभागी एमाले नेता राजन भट्टराईले बताउनुभयो ।

भेटवार्ता पछि पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले अध्यक्ष ओलीले नेपालले बिगतदेखि लिंदै आएको एक चिनको नीति र नेपाली भुभाग कुनै पनि मित्र राष्ट्रका बिरुद्ध प्रयोग हुन नदिने देशको पुरानो प्रतिबद्धतामा नेकपा एमाले प्रतिबद्ध रहेको र त्यो प्रतिबद्धतालाई निरन्तर रुपमा अगि बढाउन चाहेको बताउनुभएको नेता भट्टराईको भनाई छ ।

यसैगरी चिनले नेपाललाई नजिकको मित्रराष्ट्रको रुपमा हेरेको तथा महत्वपुर्ण बिकासको साझेदारको रुपमा रहँदै आएको र त्यसलाई निरन्तर रुपमा चिनले अगाडि बढाउन चाहेको विदेश विभाग प्रमुख जियान्चाओले बताउनुभएको भट्टराईले जानकारी दिनुभयो ।

बाम एकताको बिषयमा चिनले हस्तक्षेप नगर्ने र यो बिषय नेपालका कम्युनिष्ट पार्टीको आन्तरिक मामला भएको भेटका क्रममा प्रमुख जियान्चाओले धारणा राख्नुभएको नेता भट्टराईको भनाई रहेको छ ।

भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली लगायत सहभागी हुनुहुन्थ्यो ।

आइतबार काठमाडौं आउनु भएका लिउले भोली राष्ट्रपति विद्यादेवी भण्डारी र आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम रहेको बताईएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग आईतबार र सोमबार माओवादी अध्यक्ष प्रचण्ड सङ भेट भइसकेको छ ।

६ सदस्यीय टेलीको नेतृत्व गर्दै आइतबार नेपाल आउनुभएका लिउको भ्रमणको संयोजन नेपालस्थित चिनियाँ दूतावासले गरेको छ ।

भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहनुभएको छ ।

दुई देश र नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आउनुभएको हो ।

विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको भ्रमण टोली भोली बेईजिङ्ग फर्कने कार्यक्रम रहेको छ ।