जिल्ला अस्पतालबाट एक वर्षको अवधिमा ६ हजार बढीले लिए निशुल्क सेवा

0
Shares

लमजुङ।

लमजुङ सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला अस्पतालले एक बर्षको अवधिमा ६ हजार भन्दा बढीलाई निशुल्क उपचार सेवा दिएको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षको श्रावणदेखि जेठ मसान्तसम्मविभिन्न समस्या भई उपचारका लागि आएका ६ हजार नौसय ५७ जनाले अस्पतालबाट निशुल्क सेवा लिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो ।

निशुल्क सेवा लिनेमा तीनहजार चारसय सातजना पाँच वर्ष मुनिका बालबालिका रहेका छन् । अस्पताल प्रमुख श्रेष्ठका अनुसार विभिन्न रोग र समस्या लिएर अस्पतालमा उपचारका निम्ती आएका गरिव, असाहाय, अपाङ्ग, ज्येष्ठ नागरीक लगायतलाई निशुल्क सेवा दिएको हो ।

अस्पतालले निशुलका स्वास्थय सेवा दिने क्रममा करिव दुई करोड रुपैयाको निशुल्क सेवा दिएको प्रमुख श्रेष्ठले बताउनु भयो । चालु आर्थिक वर्षको श्रावणदेखि जेठ मसान्तसम्म अस्पतालमा उपचारका निम्ती आएका गरिव तथा विपन्न व्यक्तीहरुलाई एक करोड ७२ लाख १० हजार तीनसय ७८ रुपैया बरावरको निशुल्क सेवा दिएको हो ।

अस्पतालले पाँचवर्ष मुनिका बालबालिकाहरुका निम्ती मात्रै ७४ लाख ७५ हजार नौसय ९७ रुपैया बरावरको निशुल्क सेवा दिएको अस्पतालले जनाएको छ ।

मानव विकास तथा सामूदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा संचालित लमजुङ जिल्ला अस्पतालमा चालु आर्थिक वर्षको ११ महिनाको अवधीमा मात्रै ६३ हजार बढिले स्वास्थ्य सेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ ।

अस्पतालका प्रमुख श्रेष्ठका अनुसार ११ महिनाको अवधिमा आठहजार पाँचसय ४५ जनाले आकस्मिक सेवा लिएका छन् भने एकहजार बढिले प्रसुती सेवा लिएका हुन् । अस्पतालले लमजुङ लगायत वरपरका छिमेकी जिल्लाहरु तनहूँ, गोरखा र मनाङका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल सरकारको स्वामित्वमा १५ शैयामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव बिकास तथा सामूदायिक सेवाले ब्यवस्थापन जिम्मा लिई सामूदायिक अस्पतालको रुपमा सञ्चालनमा आएको हो । अस्पतालमा हाल ६२ शैया रहेका छन् ।