बच्चाको श्वासनलीमा ४ सेमीको पेन्सिल

धुलिखेल अस्पतालमा सफल भयो शल्यक्रिया



काभ्रे । 

तीन वर्षको बच्चाको श्वासनलीको माथिल्लो भागमा अड्किएको ४ सेन्टिमिटरको पेन्सिल निकालिएको छ । धुलिखेल अस्पतालमा उपचारार्थ पनौती ९ जाकिडोलका ३ वर्षिय प्रयत्न श्रेष्ठले २०७९ असार २१ गते विहान गृहकार्य गर्ने क्रममा कलम निलेका थिए ।

सिन्धुली हरिहरपुरगढी गाउँपालिकाका सोलारको ब्याट्रीमा राख्ने एसिड प्रकारको लिक्विड पिएर उपचारार्थ बच्चा अकित मोक्तान र उनका बाबु जगतबहादुर मोक्तान ।

‘प्रयन्न नमोबुद्ध मावि शंखुको प्ले ग्रुपमा अध्ययन गर्न थालेको एक वर्ष भयो । प्रयत्नका १० बर्षिय दाजु कक्षा ३ मा अध्ययन गर्छन । दुबै सन्तान गृहकार्य गरिरहेका थिए । एक्कासी प्रयत्न मुर्छा प-यो’ – बाबु प्रेमकृष्ण श्रेष्ठले भन्नुभयो–‘दाजुले हातमा लिएको पेन्सिल प्रयत्नले मुखमा हालिरहेको रहेछ । मुखमा राखिरहेको पेन्सिल निले पछि मात्रै थाहा भयो । पेन्सिल नदेखे पछि निल्यो कि भन्ने शंका लागेर बच्चालाई अस्पताल दौडायौं ।’

सेमिको पेन्सिल निलेका प्रयत्न र उनका बाबु आमा अस्पतालमा ।

‘धुलिखेल अस्पतालको इमरजेन्सी विभागमा बच्चाको उपचार शुरु भए पछि घाँटीको श्वास फेर्ने नलीको माथिल्लो भागमा पेन्सिल अड्किएको भेटियो’–अस्पतालमा कार्यरत नाक, कान, घाँटी रोग विशेषञ डा. आभा किरण केसीले भन्नुभयो–‘रिजीड ब्रन्कोस्कोपी’ को माध्यमबाट बच्चाको अड्किएको पेन्सिल निकाल्न सफल भयौं ।’‘विहान ७ बज्दै थियो । बच्चाहरु खाजा खाएर गृहकार्य गरिरहेका थिए । हामी दुबै जना घरकै काममा ब्यस्त थियौं, प्रयत्न मुर्छा परेर रोयो’–आमा प्रेमा श्रेष्ठले भन्नुभयो–‘बच्चालाई तत्कालै अस्पताल ल्यायौं तर पेन्सिल अड्किएको थाहा पाएसँगै हामी दुबैजना अचेत जस्तै भएछौं । बच्चालाई बचाउन सकिएला जस्तो लागेको थिएन ।

रामेछाप मन्थलीको उमा खड्का र उनकी छोरी युनिषा खड्का । युनिषाले डिजल पिएकीले अचेत छिन् ।

धुलिखेल अस्पताल र डाक्टरहरुको अथक मेहनतले बच्चाले पुर्नजिवन प्राप्त ग-यो ।’ डा. आभाकिरण केसीले बच्चालाई अप्रेसनका लागि तयारी गरिएको आधा घण्टामै पेन्सिल निकाल्न सकिएको बताउनु भयो । श्वास नलीमा भएकाले बच्चालाई खतरा थियो ।

‘चुनौतीका बीच सिसाकलम निकाल्न सफल भयौं’–डा.आभाकिरण केसीले भन्नुभयो–‘चिकित्सकिय अनुभवका आधारमा यो ठुलो आपतकालिन थियो । बच्चाहरुले बदामको गेडा तथा अन्य बस्तुहरु नाक, कान र घाँटीमा अड्काएर आउने गरेको भए पनि पेन्सिल अड्काएर आएको यो पहिलो थियो ।

बालबालिकाहरुको उपचारमा संलग्न डाक्टरहरु क्रमशः डा. आभाकिरण केसी, डा. श्रृजना डंगोल र डा. अषिश श्रेष्ठ

अस्पतालमा कार्यरत एनेस्थेसिया विज्ञ डा. आषिश श्रेष्ठले बच्चालाई अक्सिजन पु-याईराख्न, ब्लड प्रेसर तथा मुटुको धड्कन कायम राख्न चुनौती रहेको बताउनु भयो । ‘एउटै स्थानबाट अड्किएको पेन्सिल निकाल्नु पर्ने र सोहि स्थानबाट अक्सिजनको मात्रा कायम राख्नु चुनौती थियो’–डा. आषिश श्रेष्ठले भन्नुभयो–‘पाईप मुखबाट पठाउने बेला चलाउन नसकोस भनेर बच्चालाई बेहोस जस्तै बनाईएको हुन्छ । पाईपसँगै अक्सिजन पठाउन, बच्चाले खाईसकेकाले वान्ता गर्दा समेत खतरा नहुने गरी सचेततापूर्ण ढंगले सफलतापुर्वक पेन्सिल निकाल्न सफल भईयो ।’

प्रयत्नले पनि वान्ता गरे तर त्यसले असर पु-याउन पाएन । पेन्सिल निकालिए पछि थप संकट हुन नदिन आईसियुमा ५ दिन राखिएको बालरोग विशेषज्ञ डा.सिर्जना डंगोलले बताउनु भयो । ‘प्रयत्नलाई निमोनिया लगायतका अन्य समस्याबाट रोक्न पेन्सिल निकाले पछिको अवस्थामा ध्यान दिइराख्यौं’–डा. सिर्जना डंगोलले भन्नुभयो–‘अहिले प्रयन्न एचडियु बेडमा छन् । बुधबारबाट सामान्य वार्डमा सारिनेछ ।’

संकटमा बच्चा

१० वर्ष मुनिका बालबालिकाहरुको रेखदेखमा अभिभावकले ख्याल नपु-याउँदा स्वास्थ्यलाई हानी हुने बस्तुका कारण बालबालिकाहरु संकटमा पर्न थालेका छन् । पछिल्लो १५ दिनको अवधीमा धुलिखेल अस्पतालमा संकटमा परेका चार बच्चाको उपचार भईरहेको छ । अस्पतालमा कार्यरत बाल रोग विभाग प्रमुख विशेषज्ञ डा. सिर्जना डंगोलले सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रबाट अभिभावकको लार्पवाहीका कारण जोखिममा परेका बालबालिकहरु उपचारका लागि आउने गरेको बताउनु भयो ।

सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका वडा नम्वर ६ का ३ वर्षिय अंकित मोक्तानले सोलारको चार्जर ब्याट्रीमा राख्न ल्याएको लिक्विड पिए । असार २५ गते दिउसो अभिभावकले दराज माथी राखेको लिक्विड पिएका अकितलाई धुलिखेल अस्पतालमा उपचार गराईएको छ । बाबु जगतबहादुर मोक्तानले बच्चालाई बचाउन सकिएला जस्तो नलागेको भए पनि उपचार पछि आस पलाएको बताउनु भयो । लिक्विड पिए लगत्तै बच्चाले वान्ता गर्ने, कालो दिसा गर्ने तथा अन्य समस्या देखिएको थियो । अस्पतालको निरन्तरको उपचार पछि बच्चा आईसियुबाट एचडियुमा राखिएको छ ।

बनेपा नगरपालिका घर भएका २० महिने बाल सौरभ चौलागाईले आफ्नै बाबुले खाने मानसिक रोगको औषधी सेवन गरे । उनि पनि असार २५ गते अस्पताल पुगेका थिए । बाबुआमाले सेवन गर्ने औषधी नजिकै भएकाले चकलेट सम्झेर खाएको हुन सक्ने अभिभावकले बताएका छन् । उनि अहिले धुलिखेल अस्पतिालको सामान्य वार्डमा उपचारार्थ छन् ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्वर ७ मुगिटार घर भएकी तीन बर्षिया युनिषा खड्काले छिमेकीको घरमा पुगेर चिसो पदार्थ भन्दै खेत जोत्न ट्रयाक्टरलाई प्रयोग गर्न ल्याईएको डिजेल पिईन् । आमा उमा खड्काको किराना पसल छ । बच्चा दौडिएर जाने वितिक्कै पछि पछि जाँदा युनिषले विर्काे लगाएको भए पनि खोल्न सक्ने अवस्थाको पेप्सिकोलाको बोतलमा भएको डिजेल पिईसकेकी थिईन् । उमाका श्रीमान गाडी चलाउँदै आएका छन् । बच्चा खतरामुक्त भएकी छैनन । फोक्सोले काम गर्न सकेको छैन ।

असार २९ गते उनको जन्म दिन हो । युनिषाको जन्म दिन मनाउन केहि साता अघि अभिभावकले सल्लाह गरेका थिए । जन्म दिनको केहि दिन अघि युनिषाले पिएको डिजलका कारण उनि अझै अचेत छिन् । उमाको पहिलो सन्तान १० महिना पेटमा राखे पछि वित्यो । दोश्रो पटक जन्माएको सन्तानको पनि यो अवस्था भए पछि आँशु रोकिन सकेका छैनन ।

पछिल्लो समय १० वर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरुको रेखदेखमा अभिभावकहरुले चासो नदेखाएको बालरोग विशेषज्ञ डा.श्रृजना डंगोलले बताउनु भयो । बच्चाहरुले खान नहुने बस्तुहरुलाई उनिहरुले नभेट्टाउने स्थानमा राख्ने र नाक, कान तथा घाँटीमा अड्काउने खालका बस्तुहरु नदिने, बच्चाहरुको रेखदेखमा सकेसम्म ध्यान दिन सकिए बच्चाहरुलाई खतराबाट मुक्त गराउन सकिने उहाँको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्