फोनिजले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने


काठमाडौँ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । फोनिजको काठमाडौँमा सम्पन्न सङ्घीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो । अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरूको बैठक सञ्चालन, वार्षिक क्यालेण्डर निर्माण, प्रशिक्षणलगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै तीनमहिने अभियानकै बीच फोनिजले आफ्ना सदस्यहरूको अभिलेखलाई डिजिटलाइज गर्ने जनाएको छ । अब सदस्यताका लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने र अनलाइनबाटै सदस्यता स्वीकृतिलगायत प्रक्रिया सम्पन्न हुने महासचिव लिम्बूले बताए ।

नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै कायम गराउन फोनिजले अभियानकै क्रममा नेपाल पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने, सङ्घको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रालयबाट समेत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

त्यसैगरी अभियानकै क्रममा फोनिजले नेपाल आदिवासी जनजाति महासङ्घलगायत विभिन्न आदिवासी जनजातिजन्य सङ्घसंस्थासँग अन्तरसम्बन्ध सुधारका लागि विभिन्न चरणमा अन्तक्र्रिया र छलफल गर्ने निर्णय गरेको छ । बैठकले असोज २८ र २९ गते फोनिजको नीति तथा विधान सम्मेलन गर्नेसमेत निर्णय गरेको छ ।