यी हुन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेका निर्णय (निर्णयसहित)



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समितिको बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न विषयमा निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी कमिटी बैठकले विभिन्न चारवटा निर्णण् गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

स्थायी कमिटीको बैठकले गरेको निर्णयहरु यी हुन् :

१. स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो ।

२. पार्टीको विद्यार्थी संगठनमा रहेको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रेमश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरिएको छ । अब उनीको सुझावको आधारमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने छ ।

३. प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् ।

४. प्रदेशहरूमा प्रशिक्षण र बैठकहरू गर्ने । १६ साउनमा सुरु भएका बैठकहरू ३ भाद्रमा सकिनेछन् । १८ साउनमा गण्डकीमा, २० साउन प्रदेश १ मा, २४ साउनमा लुम्बिनी, २८ साउनमा सुदूरपश्चिममा, २९ साउन कर्णालीमा, ३० साउन विशेष, १ भदौ सम्पर्क समन्वय, ३ भदौमा प्रवास बैठक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्