४० बर्षपछि सफा गरियो भक्तपुरकोे द्वंःसाँ कुतवाँगु तुँथि



भक्तपुर । ४० बर्षपछि भक्तपुरकोे द्वंःसाँ कुतवाँगु तुँथि (साँढे खसेको ईनार) सफा गरिएका छ । भक्तपुरको मुख्य बजार सुकुलढोकामा रहेका द्वंःसाँ कुतवाँगु तुँथि (साँढे खसेको ईनार) नामले परिचित सो इनार सफाइ गरिएकाे हो ।

भक्तपुर नगरपालिकाका वडा नम्बर ५ का नवनिर्वाचित वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेंले सो इनार सफाई, मर्मत र ब्यवस्थित गर्न वडा कार्यालयबाट करिव ४ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए । ईनार सरसफाई मर्मत र ब्यवस्थित गर्न स्थानीयसँग छलफल गरी पानीको राम्रो ब्यवस्था मिलाउने र पुरानै मौलिक स्वरुपमै बनाउने भएको अध्यक्ष बिजुक्छेंले बताए ।

बि.सं. २०३५–०३६ सालतिर सुकुलढोकामा साँढे जुढ्डा जुढ्डै ईनारको पर्खाल भत्किएर एउटा साँढे खसेको स्थानीयको भनाई छ । साढेँ खसेपछि स्थानीयले इनारको पानी चलाउन बन्द गरेको जनाए ।

स्थानीय किसानहरुले बिहान बेलुका आफ्नो खेतबारी भएको तरकारीहरु बेच्ने र नबिकेको तरकारीहरु ती साँढेहरुलाई ख्वाउने पनि चलन रहेको रहेकाे बताइएको छ । त्यो समयमा भक्तपुरको मुख्य बजार क्षेत्रमा साँढेहरु पाइन्थ्यो ।

भक्तपुरमा पानी चलाई राखेका इनारहरु वर्षको एकचोटी सितिः नखाः को दिन सफा गर्ने चलन छ । तर, यो इनार भने नयाँं जनप्रतिनिधि आएपछि सफा गर्न लागिएको हो ।
भक्तपुरको मुटु मानिने मुख्य बजार सुकुलढोकामा रहेको यो इनार सरसफाई गरी सञ्चालनमा ल्याउने भएपछि त्यहाँंको मुहार नै फेर्ने विश्वास स्थानीयको छ । धेरै विदेश पर्यटकसमेत हिड्ने यो बजारमा रहेको इनार फोहोर भई सञ्चालनमा नहुँंदा यसअघि वदनामसमेत थियो । तर अहिले पनि यसले नयाँं जीवनसँंगै सुकुलढोकाको स्वरुप नै नयाँं लिने विश्वास स्थानीयको छ ।

भक्तपुरमा अझै पनि यस्ता धेरै इनारहरु छन् । कति इनारहरु प्रयोगमा छन् भने केही इनारहरु प्रयोविहीन छन् । पानी भएका इनारहरु निरन्तर प्रयोगमा छन् । पानी सुकेका इनाारहरु भने प्रयोगमा छैनन् । केही पानी नभएका इनारहरु सुक्खा रुपमा फोहोर छन् ।

भक्तपुरमा इनारबाहेक अन्य पानीका श्रोतहरु जस्तै ढुंगेधाराहरु पनि थुप्रै छन् । अहिले पनि धेरै ढुंगेधाराहरु प्रयोगमा छन् । केही ढुंगेधाराहरु पानी नआएका कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पाइप जडान गरी पानी आउने बनाई सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्