सरकार रेमिट्यान्सको हिसाब मात्र राख्छ आप्रवासीको ज्ञान-सीपको सदुपयोग गर्दैन

0
Shares

  • डा. प्रकाश खनाल

झण्डै चार दशकअघि पत्रकारिताबाट आफ्नो पहिचान बनाउन शुरु गरेका प्रकाश खनालको नाममा दुई वर्षअघि विद्यावारिधिको विशेषण डा. थपिएको छ । विज्ञान एकेडेमी रोनास्टमा जागिरको सिलसिलामा उहाँले नेपालमा विज्ञान पत्रकारिता बिषयमा लेख्ने जिम्मेवारी पाएसँगै नेपालमा विज्ञान पत्रकारिताको अवस्थामा सुधार ल्याउन भूमिका खेल्नुभयो ।

रोनास्टमा जागिर खाने क्रममा उहाँमा विज्ञान सञ्चार आयोजना शुरु गर्ने सोच आयो । पहिलोपटक विज्ञान प्रविधि कार्यक्रम शुरु भयो, विज्ञान लेखमालाको प्रकाशन थालियो । हाल बेलायतमा हिमालयन डेभलपमेन्ट इन्टरनेसनल सञ्चालन गर्दै आएका डा. खनालसँग नेपाल समाचारपत्रका लागि कपिल काफ्ले र शारदा शर्माले गरेको कुराकानीको सारसंक्षेप :

पहिला आत्ममूल्यांकनबाटै शुरू गरौं, तपाईं आफूलाई कस्तो व्यक्ति ठान्नुहुन्छ ?

म एउटा सहयोगी भावना भएको व्यक्ति हुँ । समाजलाई परिवर्तन गर्न केही गर्नुपर्छ भनेर २०३९ सालबाट पत्रकारिता शुरु गरें । मैले शुरुको अवस्थामा मेरा अग्रजहरुबाट निकै सहयोग पाएँ । म अलि जिज्ञासु स्वभावको हुनाले मेरो यात्रा रोकिएन । मैले शुरुमा २०३८-३९ सालमा राइजिङ नेपालमा काम पाएँ, प्रुफ रिडरको । प्रुफ रिडिङ गर्दा मैले धेरै सिक्ने अवसर पाएँ । मेरो कामप्रतिको लगाव र सिक्ने तीव्र इच्छा हुनाले मेरा अग्रज दाजु चन्द्रलाल झाले मलाई धेरै सहयोग गर्नुभयो । त्यस बेला पत्रकारितामा अहिले जस्तो खुलेर लेख्न मिल्दैनथ्यो । राजनीतिप्रति मेरो खासै चासो नहुनाले मैले पत्रकारिताको क्षेत्र रोजें । मैले विज्ञान विषयमा स्नातक गरेको हुनाले मेरो रुचि विज्ञान प्रविधि क्षेत्रतिर हुनु स्वाभाविकै थियो । तत्कालीन समयमा सर्वसाधारण समक्ष कसरी विज्ञान पु-याउने भन्ने हाम्रो लक्ष्य थियो । सोही लक्ष्यअनुसार वरिष्ठ पत्रकार गोकुल पोख्रेल दाजुसँग मिलेर विज्ञान सञ्चार आयोजना खोलेर चलाएँ । रोनास्टमा सञ्चार अधिकृत भएका कारण मलाई यस क्षेत्रमा काम गर्न निकै सजिलो भयो । हामीले २०४४ सालमा विज्ञान लेखमाला शुरु गरेका हांै । नेपालमा विज्ञान पत्रकारिताको विकासमा त्यसको ठूलो भूमिका छ । सर्वसाधारणमा विज्ञान विषय पु-याउन यसको योगदान गह्यो । किनभने, मूलधारका रेडियो र पत्रपत्रिकाले हाम्रा लेख पुनः प्रकाशन–प्रसारण गरिदिन्थे ।

मिडिया क्षेत्रमा अरू के–के गर्नुभयो ?

बाउन्न सालमा माओवादी द्वन्द्व शुरु भएपछि सशस्त्र विद्रोहका गतिविधि सबैका लागि रहस्यका विषय बन्नपुगे । माओवादी विद्रोहीहरु कसरी काम गरिरहेका छन् भन्ने देखाउने डक्कुमेन्ट्री बनाउने अवसर मलाई मिल्यो । यसले ठूलो चर्चा पायो ।मिडिया क्षेत्रमै गरेको अर्को काम सम्झिँदा विज्ञानलाई सरलीकरण गर्ने र पत्रकारितामा ल्याउने, आम पाठकसम्म पु-याउने काममा मेरो भूमिका रह्यो । मेरो पहिलो आर्टिकल काठमाडौंको गोदावरीको मार्वल खानीका विषयमा थियो । त्यो मैले हिमाल पत्रिकामा छपाएँ । त्यसपछि वातारण पत्रिका निकाल्ने कुरा पनि चल्न थाल्यो । तर, हामीले त्यस समयमा नेपालको परिवेशमा मिल्ने खालको विदेशी आर्टिकलहरु पनि नेपालीमा सम्पादन गरेर समाजमा पु-याउने काम थाल्यौं ।विज्ञानसम्बन्धी आर्टिकलहरुलाई संकलन गरेर डाक्टरहरुलाई थप परिमार्जन गर्न लगाएर समाजसम्म पु-याउने काम पनि गरें । यस्तै, सन् २००३ बाट मैले आर्थिक पत्रकारिता शुरु गरें ।

तपाईंले नेपाली आप्रवासनका विषयमा बेलायतबाट विद्यावारिधि गर्नुभएको छ, यही विषय कसरी छान्नुभयो ?

बेलायतमा नेपाली आप्रवासीबीच स्वयंसेवकका रूपमा काम गर्दैगर्दा एउटा प्रोजेक्ट तयार गरें । प्रोजेक्टको उद्देश्य विदेशमा भएका नेपालीको सीप नेपालमा कसरी ल्याउने र नेपालीलाई सीप सिकाउने भन्ने थियो । मैले विदेशमा भएका हाम्रा दाजुभाइलाई यससम्बन्धी जानकारी गराएपछि उहाँहरु खुसीसाथ ट्रेनिङ दिन आउन तयार हुनुभयो । हामीले नेपालमा गएर हाम्रो सीप हस्तान्तरण गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो, वातावरण मिलाउनुस्, हामी जान्छौं भन्नुभयो । मैले नेपालमा रहेका मेरा साथीहरु र संघ–संस्थाहरुसँंग सहकार्य गरेर वातारण मिलाएँ । नेपालमा के विषय आवश्यक छ, त्यसै विषयमा ट्रेनिङ दिने सहमति भयो । सोही सहमति अनुसार हामीले प्रसन्नजंग डाक्टर साहेबसँंगको सहकार्यमा तीन दिनको पहिलो तालिम गरायौं, यो ज्येष्ठ नागरिकमा हुने स्वास्थ्य समस्यामा केन्द्रित थियो । जसरी बालकको बेग्लै डाक्टर हुन्छ बाहिरी मुलुकमा एजिङ प्रोब्लेम हेर्ने छुट्टै डाक्टर हुन्छन् । त्यस तालिमले आम सेवा दिँदै आएका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई एजिङ हेल्थको तालिम दियौं ।
त्यो आईओएमको तर्फबाट शंकर होटेलमा भएको तीन दिनको तालिम थियो । त्यस तालिममा मुटुसम्बन्धी पनि ज्ञानवद्र्धक कुराहरु समावेश गरिएको थियो । हामीले जीवन उपयोगी कार्यक्रम गर्न थालेपछि अरू संस्था पनि विस्तारै खुल्न थाले । त्यसपछि हामीले अर्को कन्सेप्ट बनायौं । नेपालका अस्पतालहरुमा लिफ्ट सिस्टम भएका भवनहरु निर्माण गर्ने जसले गर्दा ज्येष्ठ नागरिकलाई भ-याङ उक्लिन सहज होस् । यसले अन्य बिरामीहरुलाई पनि फाइदा पुग्ने भयो ।हामीले विस्तारै काठमाडौंबाहिर पनि तालिम दिन शुरु ग-यौं । जनकपुर, विराटनगर गएर तालिम दिएपछि नेपालीमा खुसी छाएको प्रस्ट अनुभूति गर्न पाएर म धन्य छु ।

तपाईंको पीएचडीको फाइन्डिङ के हो ?

मेरो शोधको उद्देश्य देशबाहिर रहने हाम्रा नेपालीले पनि केही न केही गर्नुपर्छ भन्ने हो । मेरो अनुभवमा अहिले नेपालबाहिर जति नेपाली छन् उनींहरु एकदमै सक्रिय छन् । पुरुषको तुलनामा अझै महिला दिदीबहिनीमा हामीले केही गर्नुपर्छ भन्ने भावनाको भएको मैले अनुभव गरें । वास्तवमा मेरो शोधको फाइन्डिङ आप्रवासनमा रहेका नेपालीको सक्रियता पहिचान हो ।आप्रवासनमा रहेका नेपालीले यत्तिकै समय खेर फाल्दैनन्, आफ्नो फुर्सदको समयमा विभिन्न सीप सिकेर विदेशबाट नेपाल फर्के पश्चात् केही गर्ने सोच बनाउएको मैले पाएँ । मैले उहाँहरुलाई हजुरहरुसँंग भएको सीप ज्ञान नेपालमा पनि लैजाऔं भनेर अग्रह गरें । उहाँंहरुले स्वीकार्नुभयो ।

बेलायतमा भएका हाम्रा अग्रज दाजु, आमाबुबाहरुले निकै पाको उमेरमा पनि काम गर्नुहुन्छ । काम नगरी बस्दा शरीर पनि आलश्य हुने, समय कटाउन पनि गाह्रो हुन्छ बरु काम गरे सीप पनि सिकिने आम्दानी पनि हुने, त्यो आम्दानीले परिवारलाई पनि सहयोग पुग्ने देखियो, यो मेरो फाइन्डिङ हो ।विदेशमा बसेपछि नेपालीको एक–अर्कामा प्रेम बढेको पनि मैले महसुस गरें । अहिले नेपाली डायस्पोराको संख्या ४० लाख छ, उनीहरुको परिश्रमलाई मेरो शोधले पहिचान गर्ने प्रयास गरेको छ ।

अबको योजना के छ ?

अबको मेरो काम भनेको विदेशबाट नेपाल फर्केर आएका नेपालीहरुलाई कसरी नेपालमै प्रयोग गर्न सकिन्छ भन्ने हो, उहाँहरुसँंग धेरै ज्ञानसीप छ । त्यो नेपालमा प्रयोग हुनुपर्छ ।पछिल्लो समय विदेशबाट फर्केका नेपालीले विदेशको सीप नेपालमा प्रयोग गरेर आधुनिक तरिकाले कृषि गर्ने, विभिन्न व्यवसाय गर्ने गरेको देखिएको छ । आधुनिक तरिकाले खेतीपाती गर्दा उत्पादन पनि राम्रो हुने नेपाली उत्पादन देशबाहिर निर्यात गर्न सके उहाँहरुको जीविकोपार्जन पनि राम्रो हुने हुन्छ । नेपालमै भएका नेपालीले उहाँहरुबाट सीप सिकेर उत्पादनमा लगाए भने आयस्तर पनि सुधार हुने देखिन्छ ।

विदेशतिर नेपालीको प्रवाह बढेकोबढ्यै छ, कसरी रोक्ने ?

पछिल्लो समय धेरै नेपाली बिदेसिने गरेको तथ्यांकले देखाउँंछ । कोही अध्ययनका लागि कोही रोजगारीका लागि जाने गरेका छन् । नेपालमा रोजगारीको अवसर पनि कम छ । राज्यको यतातिर ध्यान जान जरुरी छ । अझै नेपालमा राम्रोलाई भन्दा हाम्रालाई प्राथमिकता दिने चलन छ, तर यो राम्रो होइन ।विदेशमा शिक्षितलाई हेर्ने दृष्टिकोण र नेपालमा हेर्ने दृष्टिकोण फरक छ । जस्तै, हाम्रो उत्तरी छिमेकी राष्ट्र हेरौं, कति विकसित भइसक्यो । त्यस्तै, इन्डिया पनि अघि बढिरहेको छ । चिनियाँहरु त चाइनिज डायस्पोरालाई सम्पत्ति मान्छन्– दे आर आवर वेल्थ, ट्रेजर भन्छन् ।डायस्पोरामा रहेका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी धेरै सक्षम छन्, उनीहरुले अवसर पाएमा देशका लागि केही गर्छन् जस्तो मलाई लाग्छ । तर, मेरो विचारमा सबै नेपाली विदेशबाट नेपाल आए भने झनै नेपालमा रोजगारी पाउन गाह्रो पर्छ । हाम्रो मुलुक सानो छ । बाहिर बस्ने नेपालीले देशका लागि केही गरेका छन् ।

नेपलिज डायस्पोराका सम्बन्धमा सरकारसँग तपाईंले कुनै पैरवी गर्नुभयो कि ?

मैले हाम्रो देशका प्रधानमन्त्रीसमक्ष विदेशी कामदार ल्याउने ठाउँमा सीप सिकेका हाम्रै नेपालीलाई आवसर दिउँ भन्ने प्रस्ताव पनि गरेको हुँ । तर, त्यो त्यत्तिकै छ ।नेपाल बाहिरबाट सिकेको सीप ज्ञान ल्याउने हो भने देशमा केही परिवर्तन पक्कै हुन्छ जस्तो लाग्छ । हामीले रेमिट्यान्स मात्रै हेरेका छौं । उहाँहरुले सिकेको ज्ञानसीपबारे सोचेका छैनौं । नेपाल सरकारले रेमिट्यान्सको सदुपयोग गरिरहेको छ, राम्रो हो तर रेमिट्यान्सभन्दा पनि सीप र ज्ञान ठूलो हो, त्यसको सुदुपयोग गर्ने रणनीति बनाउनु आवश्यक छ ।

दोहोरो नागरिता दिनुपर्छ ?

दोहोरो नागरिता मेरो विचारमा गलत लाग्दैन । यो जरुरी कुरा हो । यो देश तिम्रो पनि हो है, तिमी यहाँ आएर केही गर भन्ने सन्देश दिने काम दोहोरो नागरिकताको प्रावधानले दिएको छ । नेपालको संविधान–२०७२ मै यस विषयमा व्यवस्था छ, त्यो सकारात्मक छ । तर, नेपाली डायस्पोरालाई नेपालमा लगानी गर्ने वातावरण अझै बन्न सकिरहेको छ । हामीकहाँ राजनीतीकरण बढी भएको छ । देशको हितभन्दा पनि राजनीतिक दलका नेताले आफ्नो हितलाई प्राथमिकतामा राखेको देखियो । अलि बढी उदार नेताले दलको सम्म हित हेरेको छ, तर सिंगो मुलुकका लागि नेपाली डायस्पोराको उपयोग गर्न सकिरहेको छैन ।

विप्रेषणले देश चल्नु कति सकारात्मक ?

रेमिट्यान्सले देश चल्नु राम्रो चाहिँ होइन । विदेश जानु स्वेच्छाको विषय हुनुपर्छ, बाध्यता होइन । तर, हाम्रा नेपाली बाध्यताले विदेश गएका छन् । देशमा राम्रो रोजगारी नपाउँदा बिदेसिनुपरेको छ । विदेशमा धेरै नेपालीले दुःख भोगेका छन् । झनै महिलालाई समस्या छ । विदेशबाट स्वदेश आउँदा पनि विभिन्न रोग लिएर आउन बाध्य छन् । यसमा नेपाल सरकारले दायित्व पूरा गरेको देखिएन । अब यसको जिम्मेवारी राज्यले लिन सक्नुपर्छ । अब सरकारले विदेशिन बाध्य नागरिकलाई विदेशमा अपठ्यारो परेमा राज्य जवाफदेही हुनुप¥यो । कि त स्वदेशमै रोजगारी दिनुप¥यो । राज्यले अभिभावकत्व लिनुपर्छ ।

अन्त्यमा केही भन्नु छ कि ?

विदेशमा भएका नेपालीको सीप र पैसालाई नेपालमा लगानी गर्ने वातारण बनेमा राम्रो हुन्छ जस्तो मलाई लाग्छ । सीपको सदुपयोग गर्ने वातावरण सरकारले बनाउनुपर्छ । यसबारे सरकारले पहल गरोस् । काठमाडौंबाहिर पनि शिक्षालयहरु खुल्नुप-यो, अस्पतालहरु फैलाउनुप¥यो, उपत्यकाबाहिर मापदण्ड राखेर कलेजहरु खोल्ने अनुमति दिनुप-यो । अर्को कुरा बिरामीलाई अस्पताल ल्याउनुपूर्व अथवा एम्बुलेन्समा बिरामी लिएर अस्पतालसम्म पु-याउँदा अनिवार्य एउटा डाक्टरको व्यवस्था होस् ।त्यस्तै, कुनै व्यक्ति रोजगारीको सिलसिलामा विदेश जाँदा होस् या अन्य कुनै क्षेत्रमा जाँदा होस् उसको स्वास्थ्य अनिवार्य जाँच गरियोस्, सीप जाँच गरियोस् अनि मात्रै ऊ बाहिर सुरक्षित हुन्छ, नागरिकको आर्थिक र व्यक्तिगत सुरक्षा राज्यको दायित्वको विषय हुनुपर्छ ।

डायस्पोरामा रहेका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी धेरै सक्षम छन्, उनीहरुले अवसर पाएमा देशका लागि केही गर्छन् जस्तो मलाई लाग्छ । तर, मेरो विचारमा सबै नेपाली विदेशबाट नेपाल आए भने झनै नेपालमा रोजगारी पाउन गाह्रो पर्छ ।