भण्डारीविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

0
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग विध म्यानेजमेन्टका सञ्चालकविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्धको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण देखाउ आदेश जारी गरेको हो । सञ्चालक भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा सो कम्पनीलाई समेत विपक्षी बनाइएको थियो ।

अख्तियारले म्यानेजमेन्टसमेतलाई विपक्षी बनाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि कम्पनीको खाता रोक्का भएको थियो । अन्य व्यावसायिक काम कारबाही गर्न पनि समस्या परेको भन्दै भण्डारीलगायतले सर्वोच्चमा उत्प्रेषणको माग गर्दै रिट दर्ता गराउनुभएको थियो । सार्वजनिक पदमा बहाल रही राजीनामा दिई व्यापारमा लागेको अवस्थामा कम्पनीको कारोबार नै रोक्का हुने गरी भएको मुद्दा दायरका सम्बन्धमा सो आदेश जारी गरेको थियो ।

अख्तियारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर भ्रष्टाचारको मुद्दा दायर गरेको र मुद्दाकै कारण खाता रोक्का भई अन्य काम कारबाही गर्न नपाएको भन्दै विध म्यानेजमेन्टले अख्तियारको निर्णय कार्यान्वयन हुन नदिन नगराउन उत्प्रेषणको आदेशबाट माग दाबी लिएको थियो । निवेदनमा सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ । त्यसपछि अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा निर्णय हुने सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले तत्कालका लागि अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।