माओवादीभित्र पदाधिकारी टुंगो लगाउने तयारी

बैठक स्थगित गरेर गृहकार्यमा प्रचण्ड



काठमाडौं ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पदाधिकारी टुंगो लगाउन दबाब बढेको छ । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दासमेत पदाधिकारी चयन हुन नसकेपछि जारी पदाधिकारी बैठकमा प्रचण्डमाथि पदाधिकारी टुंगो लगाउन दबाब बढेको हो ।

पदाधिकारीसहित अन्य कमिटीलाई पूर्णता दिन जारी केन्द्रीय कमिटीको बैठक स्थगित गरेर प्रचण्ड नेताहरूसँग आन्तरिक गृहकार्यमा जुटनुभएको छ । उहाँले मंगलबार आफ्नै निवासमा पूर्व स्थायी समिति सदस्यहरूसँग छलफल गर्नुभएको छ । छलफलपछि प्रचण्डले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोसमेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेस गर्ने अन्तिम तयारीमा जुट्नुभएको छ । बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरूको नाम प्रस्ताव गर्ने नेता हरिबोल गजुरेलले बताउनुभयो । उहाँका अनुसार बैठकबाट पदाधिकारीसहित पार्टीको स्थायी र पोलिटब्युरो सबै टुंगो लगाउन अध्यक्षलाई अख्तियारी दिइएको छ ।

अध्यक्षले प्रस्ताव गरेको नाम त्यही हलबाट अनुमोदन गर्ने तयारी छ । पार्टी पदाधिकारी बनाउने भएपछि महासचिवसहित अन्य पदमा पनि जटिलता थपिएको छ ।वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी गरिए पनि सो पदमा कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि विवाद देखिएको थियो । यसैबीच सबैभन्दा बढी नेताहरूको दाबी रहेको महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेतको दाबी छ ।

केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लागेमा केन्द्रीय सदस्यको जवाफ दिएर प्रचण्डले बुधबार बैठक समापन गर्ने माओवादीको तयारी छ । यदि पदाधिकारीमा सर्वसम्मत हुन नसकेको अवस्थामा चुनावमार्फत् पदाधिकारीको छिनोफानो गर्नेसम्मको गृहकार्य प्रचण्डले गर्नुभएको छ । केन्द्रीय कमिटीका सदस्यहरूले लामो समय पदाधिकारीविहीन बनाउन नहुने बताउँदै सके सर्वसम्मत नसके निर्वाचन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्