काठमाडौं । गण्डकी प्रदेश सभामा बजेट माथिको छलफल जारी छ । प्रदेश सभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् ।
बैठकमा प्रदेश सभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए ।
बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए ।
मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताए । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरे ।
लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताए । करको दायरा फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए । धनमाया पोखरेल लामाले सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए ।
सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताए । योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनले बताइन् । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ ।
भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताए । सत्तापक्ष आफैँभित्र लुछाचुँडीमा लागेको बताउँदै उनले जनताका अपेक्षालाई ध्यान नदिइएको बताए । आजको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिएका थिए ।
प्रतिक्रिया